विराटनगर। प्रदेश १ मा दशैंमा ठुला साना गरी ६२ वटा सवारी दुर्घटना भएको छ ।

दशैं सुरू भएको ६ दिनमा ६२ वटा सवारी दुर्घटना हुँदा चार जनाको मृत्यु, २३ जना गम्भीर र ३९ जना सामान्य घाइते भएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीले जनाएको छ ।

असोज १५ देखि २० गतेसम्म भएको सवारी दुर्घटनामा परी मृत्यु हुने तीन जना मोरङका रहेका छन् । एक जना झापाको रहेको प्रदेश ट्राफिक प्रहरीले जनाएको छ ।

झापाको कमल गाउँपालिका ३ की ६० वर्षीय सशिकला भट्टराईको मृत्यु भएको छ । कमल गाउँपालिका ५ मा सवारी दुर्घटना हुँदा पश्चिम बाट पुर्व जाँदै गरेको मे १ ख ३२५० नम्बरको बसले बिपरीत दिशातर्फ जाँदै गरेको मोटसाइकललाई ठक्कर दिदा भट्टराईको मृत्यु भएको प्रहरीले जनाएको छ ।

यस्तै मोरङमा भएको सवारी दुर्घटनामा परी रंगेली नगरपालिका ५ का २१ वर्षीय शेख कुमार मण्डल, ग्रामथान गाउँपालिका ५ की ५२ वर्षीय भूमि चौधरी र विराटनगर १० का ६० वर्षीय केशव प्रसाद गणेशको मृत्यु भएको छ ।

गएको वर्षहरूको तुलनामा यस वर्ष दशैंमा कम सवारी दुर्घटना र मृत्यु हुनेको संख्यामा पनि कमी आएको १ नं. प्रदेश ट्राफिक प्रहरी कार्यालय इटहरीका प्रमुख प्रहरी उपरीक्षक श्याम कुमार महत्तोले जानकारी दिए । आर्थिक वर्ष २०७६/०७७ मा दशैंको अवधिमा ७ जनाको मृत्यु भएको थियो ।

आर्थिक वर्ष २०७७/०७८ मा ११ जना र ०७८/०७९ मा ८ जनाको सवारी दुर्घटनमा परी मृत्यु भएको ट्राफिक प्रहरीको अभिलेखमा देखिन्छ । चालु आर्थिक वर्षमा बिगतको वर्षहरूमा भन्दा दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको एसपी महत्तोले बताए । 

ट्राफिक प्रहरीकोे सक्रियता, ट्राफिक सचतेना, मादक पद्धार्थ सेवन गरी सवारी साधन चलाउनेमाथिको कडाइ गरेको कारणले गर्दा दुर्घटनामा परी मृत्यु हुनेको संख्यामा कमी आएको उनले बताए ।

‘ट्राफिक सचेतनासँगै सडक सुशान अभियान कार्यक्रमलाई हामीले कडाइको साथ कार्यन्वयन गरेको कारणले गर्दा पनि बिगत वर्षहरूमा जस्तो यो पटकको दशैंमा ठूलो दुर्घटना भएको छैन,’ एसपी महत्तोले भने ।