सुनसरी । सुनसरीको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ मा घरायसी विवादका कारण एकजना वृद्धको मृत्यु भएको छ ।
घरायसी विवादले उग्ररूप लिँदा शनिबार बिहान बुहारी र नातिको कुटाइबाट भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ बस्ने ७० वर्षीय खटर सरबरिया मण्डलको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।
वैदेशिक रोजगारमा रहेका आफ्ना छोराहरूबाट अलग्गै बस्दै आएका मण्डलले आफूले लगाएको फलफूल किन टिपेर ल्याएको भनेपछि विवाद हुँदा बुहारी र नातिले कुटपिट गर्दा घटनास्थलमै उनको मृत्यु भएको भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ६ का अध्यक्ष सराजुद्दीन अन्सारीले जानकारी दिए ।
सुनसरी प्रहरीले मण्डलको हत्या गरेको आरोपमा उनकी बुहारी ४५ वर्षकी प्रमिला मण्डल र ३३ वर्षकी गुड्डी मण्डल तथा मृतकका नाति पर्ने २१ वर्षका देवनन्दन मण्डललाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रवक्ता डिएसपी राजकुमार राईले जानकारी दिए । मृतकको शरीरमा घाउचोट नदेखिएको बताउँदै पोष्टमार्टमको लागि शव धरान पठाएको उनले जनाए ।