विराटनगर । उपचारको लागि भर्ना भएका दुई जना कैदीबन्दी  विराटनगरबाट फरार भएका छन् ।

क्षयरोग देखिएपछि उपचारका लागि क्षयरोग निवारण संस्था विराटनगरमा भर्ना भएका कैदी राजकुमार हेमरम र बन्दी मञ्जील गुरुङ फरार भएका हुन् । दुवै जना जिल्ला कारागार झापामा थिए । उनीहरूलाई क्षयरोग देखिएपछि विराटनगर ल्याइएको थियो ।

क्षयरोग लागेपछि उनीहरू भदौ र असारबाट निवारण संस्थामा भर्ना भएका थिए । जिल्ला कारागार मोरङका निमित्त जेलर तुलसीराम भगतका अनुसार उपचारका क्रममा उनीहरू शनिबार बिहानको राति फरार भएका हुन् ।

उनका अनुसार हेमरम जबरजस्ती करणी मुद्दाका कैदी हुन् । झापा गाउँपालिका–५ का बासिन्दा उनलाई २०७५ सालमा १६ वर्ष कैद सजायको फैसला भएको थियो । झापा गाउँपालिका–३ का गुरुङ भने लागूऔषध मुद्दामा पुर्पक्षका लगि थुनामा थिए । जिल्ला अदालत झापाले उनलाई २०७८ कात्तिक ५ गते पूर्पक्षका लागि थुनामा पठाएको थियो । 

‘विभागको निर्देशनपछि दुई जनालाई क्षयरोग निवारण संस्थामा राखेर उपचार हुँदै थियो’ उनले भने, ‘मैले पनि फरार भएको जानकारी आज बिहान मात्रै पाएँ ।’

उपचारका क्रममा फरार भएका कैदीबन्दीको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । मोरङका प्रहरी उपरीक्षक शान्तिराज कोइरालाका अनुसार शनिबार बिहानको राति फरार भएकाहरूको खोजी तीव्र बनाइएको छ ।

उनले सुरक्षामा खटिएका प्रहरीमाथि पनि छानबिन भइरहेको बताए । ‘फरार भएकाहरूको खोजी कार्य जारी छ’ उनले भने, ‘ड्युटीमा लापरबाही देखिएकाले आन्तरिक छानबिन पनि गरिरहेका छौं ।’