विजयपुर । धरानको भानुचोक बसपार्कमा लगाइरहेको एक्सचेन्ज मेला बन्द गर्न माग गर्दै धरानका यातायात व्यवसायीहरूले धरान नगर प्रमुख हर्कराज राईलाई ध्यानाकर्षण–पत्र बुझाएका छन् ।
असोज ११ गते विभिन्न ५ यातायात मजदुर सङ्घले मेलाले बजार अस्तव्यस्त भई ट्राफिक व्यवस्थापनमा चुनौती थपिएको भन्दै बन्द गर्न माग गरेका हुन् । मागपत्रमा एक्सचेन्ज मेला धरान उपमहानगरको रोहवर र सहमतिमा सञ्चालन गर्न दिएको उल्लेख छ ।
नगरको गैरजिम्मेवारपूर्ण कार्यप्रति आपत्ति जनाउँदै यात्रुहरू र सवारीसाधनको चाप अत्यधिक हुन गई पार्किङको समस्या भएकाले भानुचोक बसपार्कभित्र लगाइरहेको एक्सचेन्ज मेला र व्यापारिक विज्ञापन बन्द गर्न माग गरेको छ । यातायात व्यवसायी तथा मजदुर सङ्घ–सङ्गठनले आगामी दिनमा पनि गैरजिम्मेवार गतिविधिहरू गर्न सहमति नदिन पनि आग्रह गरेको छ ।
पूर्वेली यातायात व्यवसायी सेवा (कम्पनी) धरान, बस व्यवसायी तथा उपभोक्ता प्रवद्र्धन केन्द्र, इटहरी, सप्तकोशी यातायात व्यवसायी प्रबन्ध प्रतिष्ठान धरान, अखिल नेपाल यातायात मजदुर सङ्घ धरान र नेपाल यातायात स्वतन्त्र मजदुर सङ्गठनले संयुक्त रूपमा एक्सचेन्ज मेला बन्द गर्न माग गरेका हुन् ।
उनीहरूले धरान वडा नंं. २ कार्यालय, प्रमुख जिल्ला अधिकारी, जिल्ला प्रहरी कार्यालय, प्रदेश प्रहरी कार्यालय, इलाका प्रहरी कार्यालय धरान, जिल्ला ट्राफिक कार्यालय सुनसरीलाई बोधार्थ दिएर मेला बन्द गर्न माग गरेका छन् ।