बिर्तामोड । बच्चाको उपचारका लागि अन्यत्र धाउनुपर्ने समस्या अब झापाबासीहरुले बेहोर्नु नपर्ने भएको छ । झापाका बिर्तामोडमा ‘बिर्तामोड चिल्ड्रेन हस्पिटल’ स्थापना भएसँगै त्यस्तो समस्या समाधानका लागि अन्यत्र धाउनुपर्ने अवस्थाको अन्त्य भएको छ ।  

समाजसेवी लीला मैनालीको सक्रियतामा बिर्तामोड चिल्ड्रेन हस्पिटल संचालनमा आएको छ । हस्पिटलको बिर्तामोड नगरपालिकाका प्रमुख पवित्रा महतारा प्रसाईले उद्घाटन गरिन् । लीला मैनाली, उनका छोरी डा. सुजाता मैनाली आचार्य र ज्वाइँ डा. रुपक आचार्यले बिर्तामोडमा १५ बेडको बच्चाको हस्पिटल संचालन गरेका हुन् ।

बिर्तामोडमा बच्चाको अस्पताल नभएको र उपचारका लागि भारतको सिलिगुडीलगायतका ठाउँ धाउनुपर्ने समस्या देखेर आफूहरुले हस्पिटल संचालनमा ल्याएको प्रवन्ध निर्देशक डा. रुपक आचार्यले बताए । हस्पिटलमा चौबीसै घण्टा इमर्जेन्सी सेवा, ओपिडी सेवा, आधुनिक ल्याब, आधुनिक एक्सरेलगायतका सुविधा रहेको उनले जानकारी दिए । बच्चाको मुटुको इको गर्न काठमाण्डौं जान नपर्नेगरी इकोको सुविधा रहेको बताउँदै उनले केही दिनमा बच्चाको दिमागसम्बन्धी जाँच गर्ने व्यवस्था पनि गरिने जानकारी दिए ।

हाल हस्पिटलमा ६ जना दक्ष चिकित्सक र नर्सिङ टीम रहेको जनाइएको छ । वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान, नोबेल मेडिकल कलेज विराटनगरलगायतका हस्पिटलमा १२ वर्षको अनुभव बटुलेका हस्पिटलका प्रवन्ध निर्देशक डा. आचार्य नवजात शिशु तथा बालरोग विशेषज्ञ र कुपोषण रोग विशेषज्ञ हुन् । उनी विगत चार वर्षदेखि बिएण्डसी हस्पिटलमा विभागीय प्रमुखको रुपमा कार्यरत थिए । त्यस्तै सिइओको जिम्मेवारीमा रहेकी डा. सुजाता मैनाली आचार्य गाइनो फिजिसियन हुन् । विगत सात वर्षदेखि चिकित्सा सेवामा कार्यरत उनी पनि बिएण्डसी हस्पिटलमै थिइन् ।

हस्पिटलका अध्यक्ष मैनालीको अध्यक्षतामा भएको कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई , उपप्रमुख नगेन्द्र संग्रौला, नेपाल मेडिकल एशोसिएसन झापाका अध्यक्ष डा. सीपी यादव, बिर्तामोड उद्योग वाणिज्य संघका अध्यक्ष प्रकाश शिवाकोटीलगायतले शुभकामना मन्तव्य राखेका थिए ।