धरान । ब्ल्याकमेल (धोकाधडी) गरेको भन्दै एक महिलाले शिक्षकको हत्या गरेकी छन् । हत्या आरोपमा प्रहरीले २२ वर्षीय अविवाहित महिलालाई पक्राउ गरेको छ ।

ओखलढुङ्गा चिशङ्खुगढी ४ मा असोज ७ गते बिहान सप्तरी घर भएका शिक्षक दीपककुमार ठाकुरको हत्या भएको अवस्था शव फेला परेको थियो ।

उक्त हत्याको अनुसन्धान गर्दै जाँदा पूर्व विद्यार्थी सिद्धिचरण नगरपालिका–८ सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरिएको डिएसपी सुकदेव खनालले जानकारी दिए । उनका अनुसार प्रेमसम्बन्ध नै हत्याको कारण बनेको छ । आरोपित धमलाले दिएको बयानअनुसार शिक्षक ठाकुरले प्रेमसम्बन्धमा रहेका बेला लिइएका अन्तरङ्ग तस्बिर साथै दृश्य सामग्री भाइरल बनाइदिने भन्दै धम्की दिँदै आएकाले हत्या गरेको बताएकी छन् ।

अन्यत्र बिहे गर्न चाहेको भए पनि शिक्षक ठाकुरले बिहे गर्न पनि नदिने र आफूलाई स्वीकार पनि नगरेकाले हत्या गर्न बाध्य भएको बयान दिएको डिएसपी खनालले जानकारी दिए ।

अन्यत्र बिहे गर्न खोज्दा अन्तरङ्ग तस्बिर र दृश्य भाइरल बनाइदिने भन्दै धम्की दिँदै आएको बयान दिएको अनुसन्धानमा खटिएका डिएसपी खनालले जानकारी दिए । शिक्षक यादवको स्थायी घर सप्तरीको विष्णुपुर गाउँपालिका–५ हो । हाल चिशङ्खुगढी–४ स्थित कालिका आधारभूत विद्यालयमा शिक्षण पेशा गर्दै आएका थिए । शिक्षक ठाकुर विवाहित हुन् ।

आरोपितले ठाकुरको टाउको तथा शरीरको विभिन्न भागमा चोट बनाई घाँटीमा गम्छाले बाँधी, मुखमा सिरानीले थिचेर हत्या गरेको पाइएको प्रहरीले जनाएको छ । आरोपित एक्लै वा अन्य पनि संलग्न छन् भन्ने विषयमा खुल्न बाँकी रहेकाले अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पक्राउ परेकी धमलालाई १२ दिनको म्याद थप गरी अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।