भद्रपुर । नक्कली विद्यार्थी देखाएर लाखौँ रुपैयाँ हिनामिना गरेको समाचार ब्लाष्ट दैनिकमा प्रकाशित भएपछि विद्यालयका प्रधानाध्यापकले हिनामिना गरेको रकम फिर्ता गरेका छन् । 

भद्रपुर नगरपालिका वडा नं. ४ मा रहेको जनकल्याण आधारभूत निम्न माध्यमिक विद्यालयका प्रधानाध्यापक बालानाथ रेग्मीले १ लाख १४ हजार ७ सय ५० रुपैयाँ भद्रपुर नगरपालिकाको खातामा फिर्ता गरेका हुन् । प्रधानाध्यापक रेग्मीले केही दिन अघि रकम फिर्ता गरेको नगरपालिका शिक्षा शाखाले जनाएको छ ।  पत्रिकामा समाचार सार्वजनिक भएको आधारलाई  टेकेर भद्रपुर नगरपालिका अन्तरगत रहेको शिक्षा शाखाले सत्य तथ्य विवरण लिई शाखा आउन लिखित पत्र सहित स्पष्टीकरण मागेको थियो । 

 समाचार बाहिरिएपछि विद्यालयमा गएर विद्यार्थी हाजिरी र कक्षा कोठा अनुगमन गर्दा शङ्का लागेपछि बढी रकम प्रधानाध्यापकले बुझाएको शाखा प्रमुख प्रेमबहादुर भुजेलले बताए ।  रकम फिर्ता गरे पनि सो विषय अख्तियारमा पुगेको उनले जनाए । अख्तियारबाट नगरपालिकालाई पत्र आएकोले सो को प्रतिवेदन अख्तियारमा पठाएको भन्ने सम्म बुझेको उनको भनाइ छ । रेग्मीले आर्थिक वर्ष ०७८।७९को रकम फिर्ता पठाएको  उनको भनाई छ । 

विद्यार्थी सङ्ख्या बढी देखिएकोले नगरपालिकाले पठाएको निकासा रकम फिर्ता पठाएको भन्दै रेग्मीले चोखिने प्रयास गरेका छन्। हाल ९० जना विद्यार्थी रहेको र गत साल १७३ जना देखाएकोमा बढी देखिएका ८३ जना विद्यार्थीको रकम फिर्ता गरिएको उनले बताए । 

समाचार बाहिरिएपछि शिक्षा शाखाले तीन दिन भित्र विवरण बुझाउन भन्दै भदौ ७ गते लिखित पत्र पठाए पनि प्रधानाध्यापकको पारिवारिक समस्याका कारण उनले १९ गते मात्र पत्र बुझेको प्रमुख भुजेलले जानकारी दिएका थिए ।  गल्ती देखिए ठाडो कारबाही गर्ने जवाफ दिए पनि सो गर्न नसकिएको नगर उपप्रमुख राधा कार्कीले बताइन् । यो सामान्य विषय भएकोले मिलान भइसकेको नगरपालिकाबाट जवाफ पाएको उनले जनाइन् । कार्यपालिकाको बैठक,मेयर , प्रमुख प्रशासकीय अधिकृत शिक्षा शाखालाई जानकारी गराए पनि चासो नलिएको उनले बताइन् । 

विद्यालयको घट्नाको विषयमा कुनै जानकारी नपाएको शिक्षा विकास तथा समन्वय इकाई झापाका प्रमुख राजकुमार विश्वकर्माले बताए । उजुरी नआएसम्म जानकारी नहुने उनले जनाए ।  कक्षा १ देखि ७ सम्म सञ्चालन हुँदै आएको विद्यालयले सक्कली विद्यार्थी अनुमानित ७० जना मात्रै रहेकोमा नक्कली विद्यार्थी देखाएर जम्मा १७३ जनाको हाजिरी देखाएको फेला परेको थियो । 

शैक्षिक सत्र सुरु भए पश्चात् जेठ, असार र साउन मसान्तसम्म शतप्रतिशत विद्यार्थीको हाजिरी गरे पनि भदौ महिनाको सुरुवाती देखि हाजिरी कम देखाइएको थियो । विद्यालयमा दरबन्दी कायम राख्नकालागि नक्कली विद्यार्थी देखाएको विद्यालयका प्रधानाध्यापक रेग्मीले बताएका थिए । विद्यार्थीको खाजा बापत आउने रकमलाई कम्प्युटर , अङ्ग्रेजी , नेपाली र गणित शिक्षकलाई थप रकम दिँदै आएको जनाएका थिए । 

विद्यालयको हाजिरी पुस्तिका अनुसार प्रतिदिन एक विद्यार्थी बराबर १५ रुपैयाँ खाजा खर्च , छात्रवृत्ति ,पाठ्यपुस्तक लगायत विभिन्न शीर्षकमा विद्यालयलाई रकम जाने गरेको  शिक्षा शाखाले जनाएको छ ।