पथरी । संविधान दिवसको अवसर पारेर मोरङको कानेपोखरी गाउँपालिकाले आवासविहीन ६ परिवारलाई घर हस्तान्तरण गरेको छ ।

सोमबार वडा नं. २ स्थित प्रधान टोलमा गाउँपालिकाले ‘जनता आवास कार्यक्रम’ अन्तरगत निर्माण सम्पन्न गरेको ६ वटा आकर्षक घर हस्तान्तरण गरेको हो । वडा नं. २ का बखारु राजवंशी, चेतबहादुर विष्ट, पलान ऋषिदेव र पाण्डु ऋषिदेव, वडा नं. ५ का कोपिला सार्की र डम्बर बहादुर माझीलाई आवास (घर) हस्तान्तरण गरेको हो । गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारी र गाउँपालिका निर्वतमान अध्यक्ष ताराबहादुर काफ्लेलगायतले उनिहरुलाई हस्तान्तरण गरेका हुन् ।

यस आर्थिक बर्षमा १० वटा घर निर्माण गरी गाउँपालिका क्षेत्र भित्रका आवासविहीन परिवारलाई राखिने गाउँपालिका अध्यक्ष राजमती इङ्नामले बताइन् । घरको ढोकाको चावी दिएर खदालगाई नयाँ घरमा स्वागत गरेका थिए । एउटा ठुलो कोठा र अर्को सानो कोठा एकतले अर्ध पक्की घर निर्माण गरेका थिए । घरमा एउटा खानेपानी ट्यवेल, शौचालय र विजुली बत्तीको समेत जडान गरिएको घर प्रदान गरिएको हो ।

आर्थिक बर्ष २०७८/०७९ मा विनियोजित बजेटबाट टेन्डर लगाई भ्याट बाहेक ३० लाख ३२ हजार ४ सयमा ६ वटा घर निर्माण सम्पन्न भएको र एउटा घरलाई निर्माण सम्पन्न गर्न ५ लाख १० हजार ४ सय लागेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताए । कार्यक्रमका प्रमुख अतिथि निवर्तमान अध्यक्ष ताराबहादुर काफ्ले, गाउँपालिका अध्यक्ष राजमती इङ्नाम, उपाध्यक्ष भोला अधिकारीले संविधान दिवसको शुभकामना दिँदै घर हस्तान्तरणको बारेमा सम्बोधन गरेका थिए ।

त्यसैगरी कार्यक्रममा एमालेबाट पर्शुराम खतिवडा, कांग्रेसबाट त्रिभुनाथ फुयल, माओवादीबाट अम्बिका अर्यालले शुभकामना मन्तव्य दिएका थिए । कार्यक्रममा वडाध्यक्षहरु सुशिल बुढाथोकी, चरण गुरुङ, मोहन प्रसाद अधिकारी, गोपाल कार्कीलगायत उपस्थित रहेका थिए ।

उनिहरुले कालन्तरमा रकम आर्जन गरी आफ्नै जग्गा खरिद गरी घर बनाए त्यो आवास अन्य आवासविहीन परिवारलाई फेरी प्रयोग गर्न दिइने गाउँपालिका उपाध्यक्ष अधिकारीले बताए । कार्यक्रममा नेपालको नक्शा र झण्डा बनाई मैन बक्तीबाली संविधान दिवस पनि मनाएका थिए । पालिकाले आर्थिक बर्ष २०७५/०७६ मा जनता आवास कार्यक्रम अन्तरगत रकमले वडा नं. २ स्थित प्रधान टोलमा रहेको रुद्रबहादुर बस्नेतको १ विगाह १ कठ्ठा १२ धुर जग्गा खरिद गरेको थियो ।

उत्तर दक्षिण २० फुटे बाटोले छोएको र विजुलीको सुविधा भएको वडा नं. २ को वडा कार्यालयदेखि ७ सय मिटर पश्चिममा पर्ने जग्गा ५४ लाखमा खरिद गरेको उतिखेर वडाध्यक्ष सुशिल बुढाथोकीले बताए । २०७४/०७५ मा जनता आवास कार्यक्रम अन्तरगत ४० लाख रुपैयाँ रकम छुटिए पनि नीतिगत व्यवस्थापन गर्न नसक्दा जग्गा खरिद गर्न सकेका थिएन् ।

खोलाको धार र बाटोको छेउमा बस्ने जग्गा नभएको अहिले वडा नं. २ मा मात्र ४२ घर सुकुम्बासीको पहिचान भएको छ । जनता आवासभित्र बालबिकास केन्द्र र बृद्धाआश्रम पनि निर्माण गरिने गाउँपालिकाले जनाएको छ ।