बिर्तामोड । बिर्तामोड नगरपालिकाले सामुदायिक कुकुर बन्ध्याकरण शिविर सुरु गरेको छ । पशुपंछी तथा मत्स्य विकास शाखाको आयोजनामा शनिबार देखि शिविर सुरु गरिएको हो ।

हिमालयन एनिमल रेस्क्यु ट्रस्ट (हार्ट) पोखराको प्राविधिक सहयोगमा सुरु गरिएको यो शिबिर असोज ६ गतेसम्म सञ्चालन हुने छ । नगरपालिकाले २०७२ सालदेखि हरेक वर्ष सामुदायिक कुकुर वन्ध्याकरण शिविरको आयोजना गर्दै आएको छ । यस पटक दुइ सय ५० वटा कुकुरको बन्ध्याकरण गर्ने योजना रहेको पशुपंछी तथा मत्स्य विकास शाखाकी प्रमुख सावित्रा दाहालले जानकारी दिइन् ।

शिविर उद्घाटन कार्यक्रममा बोल्दै नगरप्रमुख प्रसाईले सामुदायिक कुकुरमा लागेको रेबिज रोगका कारण केहि समय अघि नगरका विभिन्न वडामा पशु चौपायमा क्षति पुगेको बताइन् । उनले कुकुर वन्ध्याकरणका लागि प्राविधिक टिम बाहिरबाट नै मगाउनु पर्ने भएकाले धेरै सहज नभएपनि हरेक वर्ष यो शिविर सञ्चालन गर्दै आएको जानकारी दिइन् ।

कार्यक्रममा बोल्दै हार्ट नेपालका निर्देशक खगेश्वर शर्मा भट्टराईले सामुदायिक कुकुरको न्यूनिकरण र रेविज उन्मुलनका लागि विश्वमा बन्ध्याकरण बाहेक अरु कुनै विधि नरहेको बताए । उनले बिर्तामोडमा वर्षमा २ पटकसम्म वन्ध्याकरण शिविरको आयोजना गर्नु पर्ने जनाए ।

नगरभित्र रहेका सामुदायिक कुकुरहरुको तथ्याङ्क संकलन गर्ने योजना बनाईरहेको पशुपंछी तथा मत्स्य विकास शाखाले जनाएको छ । शिविर उद्घाटन कार्यक्रममा नगर उपप्रमुख नगेन्द्र प्रसाद संग्रौला, शिक्षा शाखा प्रमुख तिलचन भण्डारी, कृषि शाखा प्रमुख राजेन्द्र प्रसाद कडरिया, शाखा अधिकृत मेघराज बाँस्तोला लगायतको उपस्थिति रहेको थियो ।