भण्टाबारी । नेपाल–भारतको दसगजा क्षेत्रमा एकजना नेपाली युवक मृत अवस्थामा भेटिएका छन् ।

सीमावर्ती क्षेत्रको भारतीय भूमिको धान खेतमा एकजना नेपाली युवा मृत अवस्थामा भेटिएको स्थानीय प्रहरीले जनाएको छ । उदयपुर जिल्लाको चौदण्डी नगरपालिका वडानम्बर ४ बस्ने अन्दाजी ३० वर्षका सुमन भन्ने मिलन कटुवाल मृत अवस्थामा भेटिएको इलाका प्रहरी कार्यालय भण्टाबारीले जनाएको छ ।

आइतबार दिउँसो मृत भेटिएका कटुवालको पोष्टमार्टमलगायत आवश्यक कानूनी प्रक्रिया पूरा गरी शव आफन्तलाई बुझाउने बताइएको छ ।

कटुवालको मृत्युको कारण खुल्न नसके पनि अत्यधिक लागूऔषध सेवन गरेका कारण उनको मृत्यु भएको हुनसक्ने स्थानीय प्रत्यक्षदर्शीको भनाइ रहेको छ ।

भण्टाबारी नाका हुँदै सुनसरी, सप्तरी र उदयपुर जिल्लाका दर्जनौं युवावर्ग दिनहुँ भारतीय बजारमा लागूऔषध सेवन गर्न जाने गरेका छन् । यद्यपि सीमामा तैनाथ सुरक्षाकर्मीले लागूऔषध कारोबारीलाई बेलाबखत नियन्त्रणमा लिने गरे पनि लागूऔषध सेवनकर्ता भने सहजै आवत–जावत गर्दै आएका छन् ।