धरान । विमल स्मृति पुस्तकालय धरानका सञ्चालक पूर्णबहादुर गुरुङलाई सरकारले यस वर्षको ‘उत्कृष्ट पुस्तकालयप्रेमी’ को रूपमा सम्मान गरेको छ ।

दिवङ्गत छोराको सम्झनामा २०४८ सालदेखि पुस्तकालय सञ्चालन गरिरहेका गुरुङलाई १५ आंै पुस्तकालय दिवस २०७९ का अवसरमा शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयले बुधबार सम्मान प्रदान गरेको हो ।

१५ आंै पुस्तकालय दिवस मूल आयोजक समितिले रसियन सांस्कृतिक केन्द्रमा आयोजना गरेको कार्यक्रममा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेल र राज्यमन्त्री बोधमाया कुमारी यादवले गुरुङलाई दोसल्ला ओढाएर सम्मान–पत्र हस्तान्तरण गरे ।

भूतपूर्व ब्रिटिस गोर्खा सैनिक गुरुङका छोरा विमल कवि तथा लेखक थिए । काठमाडौंबाट धरान फर्किने क्रममा बस दुर्घटनामा परेर १९ वर्षको उमेरमै उनको निधन भएको थियो । छोरा विमलको कोठामा रहेका पुस्तकहरू संरक्षण गर्ने क्रममा उनले पुस्तकालय खोले ।

पुस्तकालयका लागि घरछेउमै जग्गा किनेर त्यसमा भवन निर्माण गरी पुस्तकालय सुरु गरेका गुरुङले पुस्तकालयकै लागि भनेर एक करोडभन्दा बढीको अक्षयकोषसमेत स्थापना गरेका छन् ।

पुस्तकालयले हरेक वर्ष देशव्यापीरूपमा राष्ट्रिय कविता प्रतियोगिता र सृजनशील युवा पुरस्कार प्रदान गर्दै आएको छ । यस पटकबाट पुस्तकालयले वर्षभरि प्रकाशित पुस्तकमध्ये उत्कृष्टलाई पुरस्कार पनि प्रदान गर्ने भएको छ ।

निजी लगानीमा पुस्तकालय खोलेर समाजमा पठन संस्कृतिको विकासमा योगदान पु¥याएको भन्दै ८० वर्षीय गुरुङलाई मन्त्रालयले सम्मान गरेको हो । धरान निवासी गुरुङ बुधबार मन्त्रालयमा उपस्थित भएर सम्मान ग्रहण गरे । गुरुङ र विमल पुस्तकालयको सेराफेरोमा निर्मित डकुमेन्ट्री फिल्म ‘उर्मि’ केही समय दक्षिण एसियाली चलचित्र महोत्सवमा प्रदर्शन भएपछि पूर्णबहादुरको सङ्घर्षको कथा चर्चामा आएको थियो । चलचित्रकर्मी प्रणय लिम्बूद्वारा निर्देशित ‘उर्मि’ को टेलर पनि सम्मान कार्यक्रममा प्रदर्शन गरिएको थियो ।