धनकुटा । इटहरी उप–महानगरपालिका वडा नं.२ कर्णेलटोल घर भएका वर्ष ३५ का निलम पौडेलको दुबै मृगौला फेल भएपछि हाल उपचारको क्रममा पैसाको अभाव भएको भन्दै परिवारले सहयोगको याचना गरेका छन् । 

हाल उनको नोवेल मेडिकल कलेज विराटनगरको सधन उपचार कक्षमा भेण्टिलेटरमा राखेर २ हप्ता देखि उपचार भईरहेको छ । त्यो भन्दा पहिले १५ दिनसम्म विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा पौडेललको उपचार गरिएको थियो ।

त्याँहा आइसियूको अभाव भएपछि २ हप्ता अघि नोवेल मेडिकल कलेज विराटनगरमा थप उपचारको लागि लगिएको थियो । उनको स्वास्थमा सन्तोषजनक सुधार आउँदै गएको अस्पतालका चिकित्सकहरुले जानकारी दिएका छन् ।

पौडेलको दुवै मृगौला फेल भएको र फोक्सोमा पानी जमेका कारण स्वास प्रश्वासमा समश्या देखिएको चिकित्शकहरुले वताएका छन् । विरामीको अवस्था हेर्दा जुन ढंगले सुधार हुनु पर्दथ्यो त्यो हुन नसके पनि सामान्य ढंगले क्रमिक रुपमा सुधार भईरहेको चिकित्शकहरुले बताएका छन् ।  

विगत २५ वर्ष देखी धनकुटा नगरपािलका वडा नं.७ मा बस्दै आएका पौडेलका परिवार २ वर्ष अघि इटहरी उपमहानगरपालिका वडा नं.२ कर्णेलटोलमा घर वनाएर वसाँई सरेका थिए । यसैक्रममा अहिले पौडेल परिवारका जेठा छोरा निलम पौडेलको दुबै मृगौला फेल भएर विरामी परेपछि उपचारको लागि पैसाको अभाव भएको आमा शान्ता पौडेलले बताइन् । उनले भनिन्– ‘छोरालाइै दैनिक उपचारको लागि १८ देखि ३० हजार रुपयाँसम्म लाग्छ, भएका पैसा सवै सकियो अव साथिभाईलाई हारगुहार गर्नुको विकल्प रहेन ।’ उनले हालसम्म लाखौं रुपयाँ छोराको उपचारमा सकिएको बताइन् । 

निलम पौडेललाई उपचार खर्च जुटाउने उदेश्यले धनकुटामा स्थानिय समाजसेवी व्यापारीहरुले सहयोग संकलन अभियान सोमवार विहान देखि शुरु गरेका छन् । ‘निलम पौडेल बचाउ अभियान’ भनेर स्थानिय समाजसेवी थामबहदुर राई, आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) १  नं. प्रदेश अध्यक्ष सन्तवीर लामा र युवा समाजसेवी प्रविण पाख्रेलको अगुवाईमा पहिलो दिन धनकुटामा १ लाख, ३५ हजार नगद संकलन भएको छ ।

आज (मंगलवार) अपरान्ह १ बजे देखि अभियानको दोश्रो दिन प्रदेश नं.१ कै पहिलो पर्यटकिय नगरी हिले वजारमा सहयोग संकलन गर्ने कार्यक्रम रहेको अभियानका संयोजक थामबहादुर राईले धनकुटा प्रेसलाई जानकारी दिएका छन् । उनले अभियानमा मानविय भावले आफ्नो गच्छेअनुसार सहयोग गर्नु हुने सम्पुर्ण धनकुटेली चन्दादाताहरु र नगद संकलनमा जुट्नु हुने सबै सबैलाई धन्यवाद समेत दिएका छन् । 

दुई दिनको सहयोग संकलन पछि मृगौला पिडित परिवारलाई वुधवार विराटनगर नोवेल मेडिकल कलेजमै गएर हस्तान्तरण गरिने संयोजक थामबहादुर राईले बताए । दुई सहयोग संकलन गर्दा जति रकम हुन्छ, त्यति नै रकम जम्मा गरेर मृगौला पिडित निलम पौडेलका आमा शान्ता पौडेललाई पु¥याई दिने अभियानका सदस्य प्रविण पोख्रेलले धनकुटा प्रेसलाई बताए ।