पथरी । मोरङ कानेपोखरी–६ स्थित बरगाछीमा रहेको दिगोपन सामाजिक उद्यमी महिला सहकारी संस्थाले आफ्ना शेयर सदस्यहरूलाई आधुनिक कृषि यन्त्र तथा उपकरण वितरण गरेको छ ।

शुक्रबार संस्थामा बृहत् कार्यक्रमको आयोजना गरी हेफर इन्टरनेशनल र अभियान नेपालको सहयोगमा संस्थामा आबद्ध कृषकहरूलाई ४ वटा पावर टिलर र एउटा थ्रेसर वितरण गरेको हो ।

आधुनिक कृषियन्त्र पावर टिलर वडा नं. २ बाट मुक्तिनाथ समूहकी मुना कार्की, वडा नं.४ बाट सुनगाभा समूहकी सुनीमाया राई र हातेमाले समूहकी तारादेवी घिसिङ र वडा नं. २ बाट चन्द्रसूर्य समूहकी दीपा न्यौपानेले पाएका छन् । कृषकले १ लाख ३० हजार र संस्थाले १ लाख गरी जम्मा २ लाख ३० हजारको साझेदारीमा संस्थाले पावर टिलर (हाते ट्याक्टर) कृषकलाई प्रदान गरेको छ ।

त्यसैगरी वडा नं. ४ बाट सौगात समूहकी टङ्कमाया मगरले थ्रेसर प्राप्त गरेकी छन् । ५० प्रतिशत अनुदानमा टङ्कमायाले थे्रसर पाएकी हुन । थ्रेसरलाई ३ लाख ७० हजार परेको थियो । हेफर इन्टरनेशनल र अभियान नेपालले दिगोपन संस्थालाई ७७ हजारको टिभी र ८ हजारको माटो परीक्षण गर्ने यन्त्र पनि प्रदान गरिएको थियो ।

कार्यक्रमका प्रमुख अतिथि गाउँपालिका उपाध्यक्ष भोला अधिकारी, विशेष अतिथि हेफर इन्टरनेशनलका क्षेत्रीय कार्यक्रम प्रबन्धक दीपेश पोख्रेल, विशेष अतिथि संविधानसभा झापा सदस्य प्रेम गिरी र संस्थाकी अध्यक्ष उमा राना मगरले सो आधुनिक कृषियन्त्र तथा उपकरणको चाबी हस्तान्तरण गरेका थिए ।

कार्यक्रममा संस्थाकी अध्यक्ष उमा राना मगरले संस्थाको प्रगति, कारोबार र वर्तमान अवस्थाका बारेमा प्रष्ट्याएका थिइन् । कार्यक्रममा गाउँपालिका उपाध्यक्ष भोला अधिकारी, विशेष अतिथि हेफर इन्टरनेशनलका क्षेत्रीय कार्यक्रम प्रबन्धक दीपेश पोख्रेल, विशेष अतिथि संविधानसभा झापा सदस्य प्रेम गिरीले शुभकामना मन्तव्य राखेका थिए ।

कार्यक्रममा अभियान नेपाल झापा कार्यक्रम संयोजक हेम श्रेष्ठ, केशव खनाल र हेफर प्रोजेक्ट नेपालका अञ्जु सिग्देल पनि कार्यक्रममा अतिथि रहेका थिए ।