विराटनगर । विराटनगरस्थित कोसी अस्पतालमा नयाँ बन्ने अत्याधुनिक सुविधा सम्पन्न पाँच तले भवन निर्माणको काम रोकिएको छ । ठेकेदार कम्पनी सम्पर्कविहीन भएपछि कोसी अस्पतालको निर्माण कार्य दुई महिनादेखि रोकिएको हो ।

कोसी अस्पतालको नयाँ भवन निर्माणका लागि सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरले ५० करोड ३४ लाख ४४ हजार ७ सय १४ रुपैयाँमा ठेक्का खुलाएको थियो । रमन, भूमि, बि.आई.पि.एल. जेभीले लागत अनुमान गरिएकोभन्दा कम ३३ करोड २२ लाख ४८ हजार ९ सय ११ रुपैयाँ ३३ पैसामा ठेक्का लिएको थियो ।

उक्त जेभीले ठेक्का पाएपछि २०७८ असार २३ गते सङ्घीय आयोजना कार्यान्वयन इकाईसँग सम्झौता गरेपछि २१ असोजमा तत्कालीन स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्री उमेश श्रेष्ठलाई ल्याएर शिलान्यास गरिएको थियो । शिलान्यास गरेको ९ महिनासम्म निर्माणको काम अगाडि बढे पनि निर्माण कम्पनीका सञ्चालक असार महिनादेखि सम्पर्कविहीन भएको सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरका सूचना अधिकारी अशोककुमार रामले जानकारी दिए । ठेकेदार कम्पनीले २० देखि २५ प्रतिशतमात्र काम गरेर अहिले सम्पर्कविहीन भएको उनले बताए ।

‘निर्माण सुरु भएको ९ महिनामा ३० देखि ३५ प्रतिशत काम सम्पन्न गरिनुपर्ने हो’ इन्जिनियरसमेत रहेका रामले भने, ‘अहिले निर्माण कम्पनी सम्पर्कमा छैन । काम गर्न हामीले पत्राचार पनि गरेका छौं । त्यसको कुनै रेस्पोन्स आएको छैन ।’

दुई महिनादेखि निर्माण कम्पनीले काम रोकेपछि २६ साउनमा सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाईले सम्झौता गरेको अवधिमा काम सक्ने गरी काम गर्न निर्देशनसहितको पत्र काटेको छ ।

‘निर्माण कार्यको सहरी विकासमन्त्री मेटमणि चौधरी तथा सहरी विकास तथा भवन निर्माण विभागका उच्च पदाधिकारीहरूबाट साइट अनुगमन हुँदा निर्माण कार्य अत्यन्त सुस्त गतिमा भइरहेको र कार्य तीव्रता बढाई सम्झौता अवधिभित्र सम्पूर्ण कार्यहरू सम्पन्न गर्न गराउन निर्देशनसमेत भएकोले सोहीअनुसार तोकिएको समयावधिभित्र कार्य सम्पन्न गर्ने गरी संशोधित कार्यतालिकासमेत यस कार्यालयमा पेश गर्न जानकारी गराइन्छ’ रमन, भूमि/बि.आई.पि.एल. जेभीलाई काटेको पत्रमा उल्लेख छ ।

भदौ ९ गते उक्त जेभीलाई पत्र काटेको १५ दिन पूरा हुनेछ । पत्र बुझेको १५ दिनभित्रमा पनि निर्माण प्रक्रियाको काम अगाडि नबढाए कानूनअनुसार ठेकेदार कम्पनीलाई कारबाही प्रक्रिया अगाडि बढाइने सहरी विकास तथा भवन निर्माण विभाग सङ्घीय आयोजना कार्यान्वयन इकाई विराटनगरका प्रमुख गणेशबहादुर महर्जनले बताए ।

कानूनअनुसार ठेकेदार कम्पनीले राखेको बैङ्क ग्यारेन्टी तान्नेदेखि विभिन्न कारबाहीको प्रक्रिया अगाडि बढ्न सक्ने प्रावधान रहेको छ । निर्माण कम्पनीले आर्थिक वर्ष २०७८/०७९ को असार मसान्तसम्म ७ करोड ५ लाख ७ हजार रुपैयाँ भुक्तानी लिइसकेको छ । निर्माण गरेअनुसारको भुक्तानी लिएको हो । यसरी निर्माणको चरणमा रहँदै गर्दा बीचमा ठेकेदारले काम रोक्दा सम्झौता अवधिमा निर्माण पूरा हुन नसक्ने प्राविधिकहरूले बताए ।

निर्माण कम्पनीले २०८० पुस २२ गतेसम्म निर्माण सम्पन्न गरी पाँच तलाको सुविधा सम्पन्न भवन हस्तान्तरण गर्नु पर्नेछ । यही तरिकाले निर्माणको काम अगाडि बढ्ने हो भने सम्झौता अवधिमा निर्माण पूरा नहुने निश्चित भएको छ । ठेकेदार कम्पनीले घाटा हुने भन्दै काममा ढिलासुस्ती गरेको बुझिएको छ ।

ठेक्का आह्वान गरेकोभन्दा १७ करोड कम लागतमा ठेक्का पारेको सो जेभीले घाटा लाग्ने भन्दै काम गर्न ढिलासुस्ती गरेको निर्माण व्यवसायीहरूको आरोप छ । निर्माण कम्पनीका सञ्चालक कृष्ण बोहरालाई अस्पतालको भवन निर्माणको काम रोकिएको विषयमा बारम्बार सम्पर्क गर्दा पनि उनी सम्पर्कमा आउन चाहेनन् ।

चार कठ्ठा २ धुर जमिनमा बन्ने भवनको पहिलो तलामा आकस्मिक कक्ष हुनेछ । अन्डरग्राउन्ड भवनको भूईंतलामा पार्किङ हुने स्टिमेटमा उल्लेख गरिएको छ । दोस्रो तलामा एचडियूसहितको आइसोसेसनलगायतका सेवाहरू हुनेछन् । यस्तै तेस्रो तलामा नेफ्रोलोजी जनरलसहितको प्रतिक्षालय हुनेछ । तेस्रो तला ५० शय्याको निर्माण हुनेछ ।

यसैगरी चौथो तलामा कार्डियो र न्यूरोको सेवा रहनेछ । चौथो तलामा ५० शøया निर्माण हुनेछ । पहिलो चरणमा पाँच तलाको भवन बन्ने हो । त्यसपछि योजनाअनुसार तला थप हुँदै जानेछ । गुरुयोजना अनुसार ७ तलाको बन्ने भवनको लागत स्टिमेटमा पाँचौं तलामा ५२ शøयाको जनरल वार्ड र छैठौं तलामा हेल्थ अफ डिपार्टमेन्ट बनाउने उल्लेख छ ।

हाल ३ सय ५० शय्याको अस्पताल रहेको कोसीको सुविधा सम्पन्न भवन बनेपछि पाँच सय शøया पु¥याउने कोसी अस्पतालका मेसु डा. यज्ञराज खरेलले बताए । ‘सम्झौता अवधिमा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरेपछि शøया विस्तार गरी क्याथल्यावसहितको मुटुको सेवा पनि सञ्चालन गर्ने लक्ष लिएका छौं’ मेसु खरेलले भने, ‘अहिले निर्माणको काम दुई महिनादेखि ठप्प रहेको छ । निर्माण कम्पनीको यही तालले समयमै काम नसक्ने देखिएको छ ।’