विराटनगर । विराटनगरस्थित अटल फार्मेसीले बिरामीले प्रयोग गर्ने इन्जेक्सन तोकेको भन्दा बढी रकम लिएर ठगी गर्ने गरेको पाइएको छ । सुगरका दीर्घरोगी बिरामीले प्रयोग गर्ने ‘हुमन इन्सुलिन’ नामक इन्जेक्सनमा अटल फार्मेसीले ठगी गर्ने गरेको प्रमाण भेटिएको हो ।

सुगरका बिरामीले प्रयोग गर्ने उक्त इन्जेक्सनमा अटल फार्मेसीले ३ सय ७४ रूपैयाँ बढी मूल्य लिएर ठगी गरेको भेटिएको छ । उक्त इन्जेक्सनको नेपाली बजार मूल्य ६ सय २२ रुपैयाँ रहेको छ । तर, कमाउधन्दामा लागेको अटल फार्मेसीले बिरामीसँग भारतीय एमआरपी भन्दै ९ सय ९६ रूपैयाँमा बिक्री वितरण गर्ने गरेको प्रमाण ब्लाष्टले फेला पारेको हो ।

बजार मूल्यभन्दा ३ सय ७४ रूपैयाँ बढी बिरामीबाट असुली गरेको बिलसहित पब्लिक फोरमले बिहीबार वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालयमा उजुरी दर्ता भएको छ । अटल फार्मेसीले बदनियतपूर्वक बिरामीलाई ठगी गरेको हुनाले उपभोक्ता संरक्षण ऐन २०७५ र यसको नियमावली २०७६ बमोजिम कारबाही गरिनुपर्ने माग राख्दै वाणिज्यमा उजुरी दर्ता गराएको पब्लिक फोरम नेपालका अध्यक्ष उत्तम ढुङ्गेलले बताए ।

‘विराटनगरका अरू फार्मेसीहरूमा सुगरका बिरामीले प्रयोग गर्ने इन्जेक्सन ६२२ रुपैयाँमै पाइन्छ । तर, भारतीय एमआरपी जोडेर अटल फार्मेसीले बदनियतपूर्वक बिरामीलाई ठगी गर्ने उद्देश्यले ९ सय ९६ रूपैयाँमा बिक्री गरेपछि प्रमाणसहित हामीले कारबाहीको लागि उजुरी दिएका हौं’ उनले भने, ‘सम्बन्धित निकायले तत्काल अनुसन्धान गरी उपभोक्तालाई ठगी गर्ने फार्मेसीलाई कारबाहीको दायरामा तत्काल ल्याउनु पर्छ ।’ खुलेआम बिरामी र उपभोक्तामाथि ठगी गर्ने जोकोहीलाई पनि कारबाहीको दायरामा ल्याउनुपर्ने उनले बताए ।

वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण कार्यालय विराटनगरका निमित्त कार्यालय प्रमुख ईश्वर आचार्यले पनि ठगीमा उजुरी आएपछि दर्ता गरेर अनुसन्धान सुरु गरेको बताए । ‘उजुरी आएको छ’ उनले भने, ‘उजुरी दर्ता गरी हामी अनुसन्धान सुरु गर्नेछौं । बढी मूल्य लिएको पाइए कानूनअनुसार कारबाही गर्नेछौं ।’

यता अटल फार्मेसीका राजु अटलले स्टाफबाट गल्ती भएको बताए । ‘हातले बनाएको बिलमा गल्ती भएको हो, अरूबेला कम्प्युटरबाट बिलिङ हुने गरेको थियो, प्राविधिक मिस्टेक हो’–अटलले भने ।

विराटनगरमा अटल फार्मेसी तीनवटा रहेका छन् । विराटनगरको जलजला मोडमा रहेको फार्मेसीबाट बिरामीलाई ठगी भएको हो । सो फार्मेसीले खाद्यपूरक सामग्री पनि खुलेआम बिक्री वितरण गर्ने गरेको छ । औषधि व्यवस्था विभागले बिक्री वितरणमा प्रतिबन्ध लगाएको खाद्यपूरक सामग्री यो फार्मेसी खुलेआम बिक्री  वितरण गर्ने गरिएको छ । यसरी बिक्री वितरणमा प्रतिबन्ध लगाएको खाद्यपूरक सामग्री खुलेआम बिक्री वितरण गर्दा पनि नियमन गर्ने निकाय औषधि व्यवस्था विभाग विराटनगर भने मौन बसेको छ ।

यता अटल फार्मेसीका सञ्चालक राजु अटलले कर्मचारीको गल्तीले बढी पैसा लिएको स्वीकार गरेका छन् । ‘तीनवटा फार्मेसी रहेकामध्ये दुईवटामा कम्प्युटरबाट बिलिङि हुने गरेको छ’ उनले भने, ‘हस्तलिखित बिलिङ गरेको कारणले मूल्य बढी हुन गएछ । हामीले फिर्ता गरिदिने पनि भनेका छौं ।’