धरान । धरान उपमहानगरपालिकाका नगरप्रमुख हर्कराज राईले प्रदेश १ को नाम ‘आदिवासी प्रदेश’ राख्न सुझाव दिएका छन् ।

मङ्गलबार २८ औं विश्व आदिवासी दिवसका अवसरमा धरानमा आयोजित कार्यक्रममा बोल्दै उनले प्रदेशका नाममा विभिन्न प्रस्ताव आए पनि विवाद रहेकाले आदिवासी प्रदेश नाम राख्नु उपयुक्त हुने बताए । उनले भने, ‘नाम त मैले होइन, प्रदेशसभा सदस्यहरूले राख्ने हो । तर, आदिवासीहरूको बाहुल्य रहेकाले मेरो सुझाव आदिवासी प्रदेश राख्दा हुन्छ भन्ने हो ।’

नेपाल आदिवासी जनजाति महासङ्घ धरान उपमहानगर समन्वय परिषद्ले आयोजना गरेको आमसभामा बोल्दै उनले पहिला खानेपानीमा अनावश्यक खर्च हुने गरेकाले अब त्यसरी हुने खर्चबाट ७ करोड बचाएर एक करोड आदिवासीका लागि दिने बताए । उनले धरानमा बहुभाषिक विद्यालय स्थापना गरिने पनि बताए ।

कार्यक्रममा प्रमुख वक्ताका रूपमा बोल्दै भाषाविद् डा.तारामणि राईले आदिवासी जनजातिका अधिकारहरूमा राज्यपक्ष संवेदनशील नभएको बताए । उनले आदिवासीहरूसँग प्रकृति जोगाउने सीप रहने भए पनि राज्यले उनीहरूलाई त्यसको जिम्मेवारी नदिएको भन्दै आदिवासीलाई नै अग्रसर बनाउने हो भने प्रकृति विनाश कम हुने दाबी गरे ।

नगर समन्वय परिषद् धरानका अध्यक्ष सुवासचन्द्र हुक्पा चोङ्बाङको सभापतित्वमा भएको कार्यक्रममा धरान उपमहानगरपालिकाका उपप्रमुख अइन्द्रविक्रम बेघालगायतले शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा विभिन्न जातीय संस्थाहरूले झाँकी तथा नृत्य प्रस्तुत गरेका थिए । धरानको पब्लिक हाईस्कुलबाट विभिन्न जातीय संस्थाका र्यालीसहित नगर परिक्रमा गर्दै धरान–१५ स्थित चुम्लुङ भवनमा पुगेर सभा आयोजना गरिएको थियो ।