विजयपुर । सप्तकोसीले धार परिवर्तन गरेर पश्चिम तटीय क्षेत्रमा पस्दा २ हजार ३ सय घरपरिवारका १५ हजार स्थानीय विस्थापित भएका छन् ।

जिल्ला प्रशासन कार्यालय उदयपुर प्रमुख वीरेन्द्रकुमार यादवका अनुसार कोसीले बुधबार बिहान ४ बजेदेखि धार परिवर्तत गरी पश्चिम तटीय क्षेत्र प्रवेश गरेको हो । पहाडी क्षेत्रमा केही दिनयता अविरल वर्षासँगै आएको बाढीले सप्तकोसी नदीमा पानीको बहाव बढेपछि उदयपुरको बेलका नगरपालिका–८ डुम्रीबोटमा कटान गरी कोसी गाउँ पसेको हो ।

बाढी पसेपछि बेलका नगरपालिकाको वडा नम्बर १, २, ३, ८ र ९ स्थानीय प्रभावित भएका छन् । प्रमुख जिल्ला अधिकारी यादवका अनुसार करिब २ हजार ३ सय घरपरिवारको करिब १५ हजार व्यक्ति प्रभावित भएका छन् । बेलका नगरपालिकाका प्रमुख अशोक कार्कीले बाढी प्रभावित स्थानीयहरूलाई स्थानान्तरण गरिरहेको बताए । उनले भने, ‘वडा नं. १, २, ३, ८ र ९ पूर्ण रूपमा प्रभावित भयो ।’ उद्धार गर्ने कार्य गरिरहेको उनले बताए ।

नेपाल प्रहरी, सशस्त्र प्रहरी बलको उद्धार समूह र नेपाली सेना, स्थानीय सङ्घ–संस्थाको सहयोगमा राति १० बजेसम्म उद्धार गरिएको बताए । उनले ५० वटा ट्याक्टरबाट प्रभावित स्थानीयका सामग्री सारिएको बताए । उनले मानवीय क्षति नभए पनि पशुपंक्षी क्षति भएको बताए ।

प्रमुख यादवले कोसीको जोखिम क्षेत्रमा भएका नागरिक पनि सुरक्षित स्थानमा सर्न नमानिरहेको बताए । उनले भने, ‘कोसी नजिक थोरै पानी भएको स्थानका केही घरपरिवारहरू सर्न नमान्दा दुर्घटना हुने अवस्था देखियो । हालसम्म अटेर गरिरहेको अवस्था छ ।’

नगर प्रमुख कार्कीले कतिपय पर्ति ऐलानी जग्गामा बस्ने स्थानीय सर्न नमानेको बताए । उनले भने, ‘उनीहरूलाई उठाउने भन्ने सूचना आउने गरेकाले सर्न मानेका छैनन् ।’ कतिपय स्थानका स्थानीयलाई बल प्रयोग गरेर पनि स्थानान्तरण गर्नुपरेको उनले बताए । जोखिमपूर्ण क्षेत्रका ३ हजार स्थानीय, वृद्धवृद्धा र बालबालिकालाई सुरक्षित स्थानमा सारिएको उनले बताए । बाढी प्रभावितलाई सामुदायिक भवन, विद्यालय, मन्दिरलगायतका स्थानमा राखिएको छ ।

वराहक्षेत्र नगरपालिकाका प्रमुख रमेश कार्कीले  वराहक्षेत्रको वडा नं. ६ र ९ मा सामान्य प्रभाव रहे पनि स्थानान्तरण गरिहाल्नुपर्ने अवस्था नभएको बताए । उनले भने, ‘केही घरमा पानी पसे पनि विस्थापित गर्ने अवस्था छैन ।’ वराह क्षेत्रका १० घरपरिवारलाई सुरक्षित स्थानमा सारिएको बताए । जिल्ला प्रशासन कार्यालय सुनसरीका सूचना अधिकारी जोरासिंह माझीले कोसीमा पानीको बहाव वृद्धि भइरहेको बताए । पानीको बहाव बढेपछि कोसी ब्यारेजका ५६ मध्ये ४७ ढोका खुल्ला गरिएको छ ।

यसैबीच स्थानीय विपद् व्यवस्थापन समितिले वर्तमान स्थलगत अनुगमन गर्ने, सहजीकरण समिति गठन गर्ने, खोज, उद्धार, राहत र पुनस्र्थापनमा सबै सरोकारवाला निकायसँग समन्वय गर्ने निर्णय गरेको सुनसरीका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले जानकारी दिएका छन् ।

साथै बेलका नगरपालिकाको सार्वजनिक भवनमा आश्रयस्थल बनाउने, प्रदेश सरकार, स्थानीय तह तथा गैरसरकारी संस्थासँग आर्थिक सहजीकरण गर्ने, आवश्यक वस्तु व्यवस्था गर्ने र विपद् व्यवस्थापन समितिबाट सरोकारवालाको लागि सूचनाको सङ्कलन र सार्वजनिक गर्ने र नदी नियन्त्रण गर्न प्रयास गर्ने निर्णय गरेको छ ।