विजयपुर । धरान–१७ स्थित एन्फा एकेडेमी पूर्व–उत्तरमा रहेको धरान उपमहानगरको जग्गा अतिक्रमण गरी निर्माण गरिएको टहरा हटाइएको छ ।

बिहीबार नगर प्रहरीले बल प्रयोग गरेर हटाएको हो । धरान–१७ एन्फा एकेडेमी उत्तरतर्फ साउने टोल विकास समितिको भवनछेउमा रहेको उपमहानगरको जग्गामा ३ वटा टहरा निर्माण भएको थियो ।

जग्गा अतिक्रमण गरी बसोबास गरेको उजुरी परेपछि उपमहानगरले साउन ५ गते ५ दिन समय दिएर हटाउन सूचना टाँस गरेको थियो । ५ दिनको समयमा खाली नगरेपछि उपमहानगरले हटाएको हो । उपमहानगरको निवर्तमान जनप्रतिनिधिले उनीहरूलाई टहरा बनाउन दिएको स्रोतले ब्लाष्टलाई बताएको थियो ।

हाल पनि धरान उपमहानगर क्षेत्रमा पर्ने विभिन्न स्थानका सरकारी जग्गा पनि भूमाफियाले चलखेल गरी खरिद बिक्री गर्ने कार्य रोकिएको छैन । विगत लामो समयदेखि विभिन्न स्थानमा सुकुम्बासीका नाममा राजनीतिक दलका नेतासहित जनप्रतिनिधिहरूबाट नै सरकारी जग्गा खरिद बिक्री हुँदै आएको थियो ।

हाल पनि सरकारी जग्गा अनधिकृत रूपमा उपभोग गर्ने कार्य भने रोकिएको छैन । धरान–५ स्थित अँधेरी खोलाछेउमा फुटबल मैदानका लागि भनेर खोलालाई किनारीकृत गरेर निकालिएको जग्गा उत्खनन् गर्ने, घेराबारा लगाउने कार्य भइरहेको छ ।