धनकुटा । धनकुटा नगरपालिका वडा नं. १० को छाप र लेटरप्याड कीर्ते गरेर प्रयोग गरिएको पाइएको छ ।

धनकुटा–१० मा रहेको ऐतिहासिक मार्गा पोखरी संरक्षण समितिले प्रदेश सरकारबाट पाएको ६ लाख रुपैयाँ नगद भुक्तानीको लागि वडा कार्यालयको छाप र लेटरप्याड दुरुपयोग गरेको हो । प्रदेश सरकार, पर्यटन मन्त्रालयले मार्गापोखरी संरक्षणको लागि ६ लाख बजेट विनियोजन गरेको थियो । सोही बजेटमा सम्झौता गर्दा वडा कार्यालयको सिफारिस लगेको भए पनि रकम निकासा गर्दा भने छाप र लेटरप्याड आफै बनाएर लगेको पाइएको वडा कार्यालयले बताएको छ ।

मार्गापोखरी संरक्षण समितिका निवर्तमान अध्यक्ष टङ्क दर्लामी, सचिव दामोदर सुवेदी र जलकल्याण माविका प्रधानाध्यापक चिरञ्जीवी दाहालको नेतृत्वमा छाप र लेटरप्याड दुरुपयोग भएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयको छाप निवर्तमान वडाध्यक्ष कमल कार्कीले दिएको र लेटरप्याड कम्प्युटरबाट निकालिएको वडा सदस्य सुरेशकुमार श्रेष्ठले बताए ।

यो विषयमा वडा कार्यालयले छानबिन गरिरहेको जनाएको छ । सम्झौता गर्दा वडामा दर्ता चलानी गरिएको र रकम भुक्तानी गर्दा दर्ता चलानी नगरिएको वडा कार्यालयले जनाएको छ । वडा कार्यालयले उनीहरूका हालसम्मका खाता तथा निर्णयहरू उपस्थितिको विवरण माग गरेको र उनीहरूले २ दिनको समय माग गरेको वडासदस्य श्रेष्ठले बताए ।

उनले २ दिनमा उनीहरूले एउटा निर्णय पुस्तिका ल्याएर दिएको भए पनि त्यहाँको उपस्थिति र हाजिरी सत्यता रहे नरहेको विषयमा छानबिन गरिरहेको बताएका छन् । वडासदस्य श्रेष्ठले केही महिनाअगाडि नयाँ कार्यसमिति गठन गरेको भए पनि नयाँ कार्यसमितिलाई जानकारी नै नदिई काम गरेको पाइएको जानकारी दिए । उनले नयाँ कार्यसमिति बनेपछि पुरानो समिति स्वतः खारेज हुनुपर्ने बताए ।

नयाँ कार्यसमिति अध्यक्ष तुलसा श्रेष्ठले यस विषयमा आफूलाई कुनै जानकारी नभएको बताइन् । उनले भनिन्, ‘पैसा ल्याइयो भनेको सुनेको हो तर, अरू कुनै जानकारी छैन ।’

समिति गठन गर्दा आफूलाई अध्यक्ष बनाएको पनि पछि मात्र थाहा पाएको तर, काम गर्दा कुनै जानकारी नदिएको उनको भनाइ छ । निर्णय पुस्तिकामा आफ्नो हस्ताक्षर भेटिएको र सो हस्ताक्षर आफ्नो नभएको उनको भनाइ छ । माइन्युटमा हस्ताक्षर भएका टेकबहादुर श्रेष्ठले पनि सो विषयमा आफूलाई केही थाहा नभएको र आफ्नो हस्ताक्षर नभएको बताए । उनले अन्य धेरैको हस्ताक्षर अरूले नै गरिदिएको पाइएको बताए ।

यता जलकल्याण प्राविका प्रधानाध्यापक चिरञ्जीवी दाहालले भने पुरानो समितिको खाताबाट भुक्तानी लिएको बताए । उनले सिफारिस वडा कार्यालयबाटै समितिका सचिव दामोदर सुवेदीले लगेको र बुधबार वडा कार्यालयमा भएको छलफलमा वडाध्यक्ष नगेन्द्र पाण्डेले सिफारिसमा हस्ताक्षर गरेको बताएको जानकारी दिए । उनले पुरानो छाप विद्यालयमा रहेको भए पनि निवर्तमान वडाध्यक्ष कमल कार्कीले पहिल्यै लगेको बताए ।

निवर्तमान वडाध्यक्ष कार्कीले भने सोही काममा वैशाख १८ वा १९ गते विराटनगर जाँदा दाहालको झोलामा राखेको र त्यतै छुटेको बताए । उनले त्यो छाप निर्वाचनको कारण त्यहीँ रहेको र अहिले आफूसँग आइपुगेकोले अब वडा कार्यालयमा बुझाउने बताए । 

यता वडाध्यक्ष नगेन्द्र पाण्डेले भने यो विषयमा छानबिन गरिरहेको जानकारी दिए । बुधबार विद्यालयमा भएको वडा कार्यालयको छाप निवेदनसहित बुझाउन वडा कार्यालयमा आएको भए पनि आफूले नलिएको पाण्डेले बताए ।

वडामा छलफलको क्रममा समितिले प्रदेश सरकारले ४ लाख ५२ हजार रकम भुक्तानी भएको देखाएको र त्यसमा ३ लाख ४७ हजार काम भएको र २४ हजार विविध खर्च भएको देखाएको छ । अरू रकम के भयो भन्दा जवाफ नआएको बताइएको छ । प्रदेश सरकारले सोही ठाउँमा आर्थिक वर्ष ०७७÷७८ मा ३० लाख बजेट विनियोजन गरेको र त्यसबाट भएको कामको पनि अब छानबिन गरिने वडाध्यक्ष पाण्डेले बताए ।