सुनसरी । नेपालबाट भारततर्फ चौपाया तस्करी हुने गरेको पाइएको छ । सीमा नाकामा सुरक्षार्थ खटिएका प्रहरीले निगरानी बढाएको दाबी गर्दै आए पनि तस्करी हुने क्रम रोकिएको छैन । बेला–बेला त्यसरी अवैध रूपमा भिœयाउने भैंसी, राँगा, गाई, गोरु प्रहरीले नियन्त्रणमा लिने गरे पनि तस्करी हुने क्रम यथावत् छ ।

प्रहरी, पशु क्वारेन्टाइन र भन्सारका कर्मचारीकै मिलेमतोमा तस्करी गराउने गिरोह सक्रिय रहेको स्रोतको दाबी छ । सुनसरीको घुस्की, वसन्तपुर, विक्रमपुर, देवानगञ्ज, भुटाहा, उल्टीसहितका नाका हुँदै दिनहुँजसो चौपाया भित्र्याउने गरिएको छ । तस्करहरूले चराउने बहानामा हिँडाउँदै भैंसी, राँगा, गाई, गोरु भित्र्याउने गरेका छन् भने व्यापारीहरूले झापाको विभिन्न नाकाबाट भारत हुँदै तेस्रो मुलुकसम्म तस्करी गराउँदै आएका छन् ।

नेपालबाट दोस्रो मुलुक गाई, गोरु निकासी गर्न नपाउने प्रावधान छ । गाई, गोरु पालेर गाईको दूध खान, बेच्न वा गोरुलाई जोत्न र गाडा चलाउन मुलुकभित्रै ओसार–पसार गर्न पाइने प्रावधान भए पनि कानून कार्यान्वयन भएको पाइँदैन । वर्षौंदेखि तस्कर र सीमामा तैनाथ सुरक्षाकर्मीको मिलेमतोमा चौपाया तस्करी गर्ने गिरोह सक्रिय रहँदै आएको स्रोत बताउँछ ।

३४ वटा चौपाया बरामद
तस्करी गर्दै गरेको अवस्थामा ३० वटा गाई र चारवटा गोरु    सुनसरी प्रहरीले नियन्त्रणमा लिएको छ । सुनसरी जिल्लाको  भोक्राहा नरसिंह गाउँपालिका वडानम्बर ८ स्थित उल्टी एरियाबाट शनिबार बिहान नेपालबाट भारत तर्फ लैजाँदै गरेका गाई ३० वटा, चारवटा गोरु गरी जम्मा ३४ वटा चौपाया सुनसरी प्रहरीको टोलीले नियन्त्रणमा लिई आवश्यक कारबाहीको लागि सेतुबन्ध भन्सार कार्यालय कोसी ब्यारेजमा बुझाएको सुनसरी प्रहरीका प्रवक्ता नरेन्द्र कार्कीले जानकारी दिए ।

उक्त पशु चौपायाको भन्सार मूल्याङ्कन दुईलाख ९५ हजार राखिएको हो । नेपाल र भारतको कानूनी व्यवस्थाअनुसार एक देशबाट अर्काे देशमा चौपाया तस्करी गर्न रोक लगाएको छ । कानूनले तस्करी गर्न नपाइने भने पनि तस्करहरूले चराउने बहानामा भारतबाट चौपाया नेपाल भिœयाउने र पुनः भारत हुँदै तेस्रो मुलुकसम्म पठाउने गरेका छन् ।

भारतबाट तेस्रो मुलुकसम्म सिधै चौपाया तस्करी गराउन सहज नभएकोले नेपालको बाटो हुँदै तस्करी गराउँदै आएको छ । पशु ढुवानी मापदण्ड विपरीत व्यापारिक प्रयोजनका लागि भन्दै ट्रकमा चौपाया कोचेर लैजाने र सीमामा पुर्याउने तस्करले त्यस्ता चौपायालाई मौका हेरी सीमा कटाउने गरेका छन् । सीमा नाकामा तैनाथ सुरक्षाकर्मीले चौपाया तस्करी रोक्न सक्रिय रहेको दाबी गर्दै आएको छ । तर, खुला सीमा नाकाका कारण तस्करी नियन्त्रण चुनौतीपूर्ण रहँदै आएको छ ।

cow123

चौपाया तस्करी भएको आरोप
खुल्ला सीमा नाकाको फाइदा उठाउँदै सुरक्षाकर्मीकै संरक्षणमा चौपाया तस्करी हुँदै आएको स्थानीयको आरोप छ । सुरक्षाकर्मीको संरक्षण विना तस्करी गराउनु सम्भव नरहेको नाम उल्लेख नगर्ने शर्तमा एकजना व्यापारीले बताए ।

‘सीमामा तैनाथ रहेकादेखि माथिसम्म मिलेका हुन्छन्’ ती व्यापारीले भने, ‘नत्र त्यसरी भारतबाट चौपाया ल्याउन सम्भव छैन । प्रहरीलाई पनि काम देखाउनुपर्ने हुन्छ, त्यसैले कहिलेकाहीँ पक्राउ गर्छन् ।’ भारत वा दोस्रो कुनै मुलुकबाट पशुजन्यवस्तु नेपाली पशु क्वारेन्टाइनले निरोगिता भएको प्रमाणित गरेको खण्डमा मात्र नेपाल भित्रिन दिने कानूनी व्यवस्था रहेको छ ।

तर, पशु क्वारेन्टाइन र भन्सारका कर्मचारीसँगै प्रहरीकै प्रश्रयमा चौपाया तस्करी गराउने गिरोह सक्रिय रहेको स्थानीयको आरोप छ । यता सुनसरी प्रहरी प्रमुख एसपी सञ्जयसिंह थापा सबै प्रकारका चोरी–पैठारी नियन्त्रण गर्न प्रहरी लागिपरेको दाबी गर्छन् ।

‘चौपाया तस्करी बेला–बेला चोरबाटोबाट हुँदै आएको छ’ उनले भने, ‘जसलाई नियन्त्रण गर्न हामी २४ घण्टा ड्युटी गर्दै आएका छौँ ।’ तस्करीमा प्रहरीको संलग्नता अस्वीकार गर्दै एसपी थापाले त्यस्तै कुनै प्रहरीले गरेको पाइएमा प्रमाण उपलब्ध गराएको खण्डमा तत्काल कारबाही गरिने दाबी गरे ।