विराटनगर । प्रदेश १ का सभामुख प्रदीपकुमार भण्डारीले प्रदेशको नामकरणको  विषयमा बोलाएको सर्वदलीय बैठक विना निष्कर्ष टुङ्गिएको छ ।शुक्रबार तीन घण्टा चलेको बैठक विना निष्कर्ष टुङ्गिएको हो ।

प्रदेशको नामकरणको विषयमा सहमति जुट्न नसकेपछि फेरि छलफल गर्ने गरी बैठक टुङ्गिएको सभामुख भण्डारीले जानकारी दिए । छलफल सकारात्मक भए पनि सहमतिमा नपुगेको उनले बताए । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्र राईले पहिचान नभए प्रदेशको नामै नआउने दाबी गर्दै आएका छन् ।

उनले छलफलमा पनि त्यही अडान दोहोर्याएको सभामुख भण्डारीले बताए । मुख्यमन्त्रीले बैठकमा पहिचानको आधारमा नामकरण गर्नुपर्ने विचार राख्नुभन्दा अघि काब्ग्रेस संसदीय दलका नेता राजीव कोइरालाले संसद्मा लगेर प्रक्रिया थाल्नेबारे सोच्ने कि भनेर प्रस्ताव गरेका थिए । जवाफमा मुख्यमन्त्री राईले पूर्व सहमति विना नाम आउँदैन भन्दै "कुनै न कुनै रूपमा नाममा पहिचान जोडिनैपर्छ’ भन्ने अडान राखेका थिए ।

मुख्यमन्त्रीको अभिव्यक्तिको समर्थन गर्दै माओवादी केन्द्रका नेता इन्द्र आब्बो, जनता समाजवादी पार्टीका जयराम यादव र संघिय लोकतान्त्रिक राष्ट्रिय मञ्चकी विष्णुमाया तुम्बाहाम्फेले नाममा पहिचान जोड्नु पर्ने बताएका थिए ।

पहिचानको विपक्षमा मत जाहेर गर्दै आएको एमालेले शुक्रबारको बैठकमा पनि 'जातीय नाममा सहमत हुन नसकिने’अडान दोहोर्याएको थियो । एमाले नेता हिक्मत कार्कीले पूर्व अडान दोहोर्याउँदै बैठकमा भने,  "जातीय नाममा हामी सहमत हुन सक्दैनौं ।’ उनले कोसीमै सहमति जुटाउनु पर्ने बताए । उनले कोसीको अडान दोहोर्याउँदा एकीकृत समाजवादी,  माओवादी, जसपालगायतका नेताहरूले एमालेले ल्याएको कोसीको नाममा सहमत हुनै नसकिने बताएको सहभागी एक नेताले जानकारी दिए ।

सत्तारुढ दलहरूले यस्तो प्रस्ताव गरेपछि एमालेले छलफलका लागि तयार भएको जनाएको छ । 'उहाँहरूले आफ्नो अडानमा पुनः विचार गर्ने सब्केत गरेको हो कि जस्तो गर्नुभएको छ’ एमाले नेता कार्कीले भने, "यदि उहाँहरूको यो खेल होइन भने एमाले छलफलका लागि तयार छ ।’ सत्तारुढ दुई वाम दल माओवादी र समाजवादीले भने  'विकल्प खोज्दा पनि पहिचानलाई मुख्य आधार बनाउने गरी छलफल गर्न सकिने बताएका छन् । दलहरू आफ्नो अडान छाड्न नमान्ने अवस्थाले प्रदेशमा नामकरणको मुद्दा झन्–झन् पेचिलो बन्दै छ ।

यद्यपि दलहरूले फेरि बैठक गर्ने सहमति भने गरेका छन् । "आउँदो बैठक काँग्रेसले बोलाउने गरी कुरा भएको छ’ काँग्रेस नेता राजीव कोइरालाले भने, "हामी छिट्टै आयोजना गर्छौं ।’