विराटनगर । प्रदेश नं. १ को १४ जिल्लाको प्रहरी कार्यालयहरूमार्फत् आर्थिक वर्ष २०७८/०७९  मा ८ हजारभन्दा बढी मुद्दा दर्ता भई कानूनी कारबाही भएको छ ।

आर्थिक वर्षमा ८ हजार ५५ वटा विभिन्न अपराधसम्बन्धी शीर्षकमा मुद्दा दर्ता भई कारबाही भएको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । मुद्दा दर्ता भएकामध्ये ३ हजार १ सय ७७ वटा मुद्दाहरू फछ्र्यौट गरिसकेको छ । फैसला कार्यान्वयनतर्फ विभिन्न अपराधमा सजाय तथा जरिबाना फैसला भई फरार रहेका १ हजार ७ सय ३८ जना फरार प्रतिवादीहरूलाई पक्राउ गरी ८ करोड ७ लाख ४७  हजार ६ सय ७५ रुपैयाँ राजश्व सङ्कलन गरेको १ नं. प्रदेश प्रहरी कार्यालय विराटनगरका प्रवक्ता एसपी नवीनराज राईले जानकारी दिए ।

आर्थिक वर्षमा जम्मा ३९ करोड २१ लाखभन्दा बढी राजश्व सङ्कलन भएको छ । सङ्गठन प्रमुख तथा प्रदेश प्रमुखको निर्देशनलाई पालना गर्दै १ नम्बर प्रदेशभरिमा कार्यरत सम्पूर्ण प्रहरी कर्मचारीहरूले आफ्नो पदीय दायित्व र जिम्मेवारीलाई आत्मसाथ गर्दै समाजमा हुने आपराधिक घटना, फैसला कार्यान्वयन, भन्सार चोरी निकासी, नदीजन्य पदार्थको अवैध दोहन, अवैध काठ चोरी निकासी र ट्राफिक व्यवस्थापनमा प्रभावकारी रूपमा प्रहरी परिचालन भएअनुरूप उल्लेख्य मात्रामा सफलता हासिल भएको हो ।

यसैगरी अवैध भन्सार चोरी निकासी गर्ने ७३ जना मानिसलाई पक्राउ गर्नुका साथै ११ करोड ७४ लाख ४६ हजार ९ सय २९ रुपैयाँ राजश्व सङ्कलन गरेको छ । यस्तै नदीजन्य पदार्थको अवैध रूपमा दोहन गर्ने ३७ जना मानिस र ६ सय ४५ वटा नदीजन्य पदार्थ उत्खनन् गर्ने र ओसार पसार गर्ने सवारी साधनलाई नियन्त्रणमा लिनुका साथै ३३ लाख ३१ हजार ५ सय राजश्व सङ्कलन भएको छ । यसैगरी अवैध काठ चोरी निकासीमा संलग्न ४७ जना मानिस पक्राउ गर्नुका साथै ४ हजार ६ सय ४८ क्यु.फिट काठ बरामद गरी १ करोड ४ लाख ३३ हजार ५ सय ३७ रुपैयाँ राजश्व सङ्कलन गरेको छ ।

यसैगरी ट्राफिक व्यवस्थापनतर्फ यस आर्थिक वर्षमा ट्राफिक नियम उल्लङ्घन गर्ने २ लाख ६९ हजार ८ सय २३ वटा सवारी साधनहरुलाई कारबाही गरी १८ करोड १ लाख ५९ हजार राजश्व सङ्कलन भएको छ ।

लागूऔषध नियन्त्रण तर्फ गाँजा २ हजार २१ किलोग्राम ९ सय २ ग्राम, चरेश २३ ग्राम ९ सय १७  मिलिग्राम, ब्राउनसुगर २ किलोग्राम ४५ मिलिग्राम, विभिन्न मनोद्दिपक क्याप्सुल ३१ हजार ९ सय ७०, मनोद्दिपक एम्पुल १० हजार २ सय ६५ र मनोद्दिपक औषधिहरू ७ सय ६९ क्याप्सुल बरामद गरिएको र ४ हजार ८ सय २१ रोपनी क्षेत्रफलमा लगाएको ८ लाख १२ हजार ५ सय १५ बोट गाँजा नष्ट गरिएको छ ।

यसैगरी प्रहरी कार्यतर्फ उत्कृष्ट कार्य गर्ने १ हजार ८ सय ६४ जना प्रहरी कर्मचारीलाई पुरस्कृत गरिएको छ भने प्रहरी आचरण विपरीत कार्य गर्ने ४ सय २८ जना प्रहरी कर्मचारीलाई विभागीय कारबाही गरिएको प्रदेश प्रहरीले जनाएको छ ।