विराटनगर । प्रदेश १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले दलहरुले पहिचान विरोधी नामाकरण प्रदेशको  गराउन खोजे  रमिते बनेर नबस्ने बताएका छन् । विराटनगरमा  किराँत राई यायोक्खा केन्द्रिय समितिले प्रकाशन गरेको ‘किराँत सभ्यता’ पुस्तकको विमोचन कार्यक्रममा बोल्दै मुख्यमन्त्री राईले यस्तो बताएका हुन् । 

अधिकतम लचकता अपनाएर पहिचान सहितको नामाकरण गराउन सहमत हुने तर जभाभावी नामको प्रस्तावमा सहमती गराउन खोजे सरकार रमिते भएर नबस्ने मुख्यमन्त्री राईले बताए ।  उनले प्रदेश १ को नामाकरण किराँत पहिचान सहितको हुँदा आपत्ती मान्नुपर्ने कुनै कारण नभएको भन्दै कसैले जर्बदस्ती अर्को पहिचान विरोधी नाममा सहमती गराउन खोजे सरकारले पनि संबिधान अनुसारको आफनो हक प्रयोग गर्ने बताए । ‘पहिचान विरोधी नाममा सहमती गराउन खोजे यो मुख्यमन्त्री  बुख्याँचा जस्तो रमिते बनेर टुलुटुलु हेरेर बस्दैन ’, उनले भने । 

दलहरु विच सहमती नजुटेमा सरकारले प्रकृया अनुसार किराँत पहिचान सहितको प्रस्ताव नामाकरणका लागि प्रदेश सभामा दर्ता गराएर  छलफल सुरु गराउन सक्ने र दुईतिहाई जुटाउन साम, दाम, दण्ड, भेदको नीति सरकारले अपनाउन सक्ने आशय मुख्यमन्त्री राईको भनाई छ । 

‘किनभने प्रदेशको नामाकरण गराउन प्रदेश सभामा दुई तिहाई बहुमत चाहिन्छ । तर प्रदेश १ मा दलहरु नामाकरणमा विभाजित भएकोले दुई तिहाईमा सहमती जुटन सकिरहेको छैन,’ उनले भने  । 

मुख्यमन्त्री राईले सबै राजनैतिक दलहरुले सबै खाले आन्दोलन र पटक पटकका चुनावी घोषणापत्रहरुमा बहुपहिचानको अधिकारलाई लिखित रुपमै स्विकार गरिसकेकोले प्रदेश १ को नामाकरण पनि पहिचानकै आधारमा हुनुपर्ने दाबी गरे  ।

प्रदेशको नामाकरण गराउन आफु आकाश, पाताल, धर्ती सबै एक बनाएर लागि रहेको बताए । ‘म फेरि पनि सिमे , भुमे लगायत सबैखाले कसम खाएर भन्छु म प्रदेशको नामाकरण गराउन किराँतको पक्षमा अडिग भएर उभिने छु ।’ 

नामाकरणमा गंभिर हुन सभामुखको दलहरुलाई आग्रह 

सोही कार्यक्रमा प्रदेश १ सभाका सभामुख प्रदिपकुमार भण्डारीले सहमती विना प्रकृयाको कुनै अर्थ हुदैन भन्दै नामाकरणका लागि दलहरुलाई गम्भिर बन्न आग्रह गरे ।  सबैप्रदेशले आफनो नाम राखिसक्दा पनि प्रदेश १ले राख्न नसक्दा आफुहरु सहित सबैको शिर निहुरिएकोले अब ठूला दलहरुले गम्भिर भएर गहन जिम्मेवारी निभाउनैपर्छ नत्र ईतिहासमा कलङक लाग्ने उनले बताए । 

प्रदेश १ का सिचाई खानेपानी तथा उर्जा मन्त्री तथा माओबादी केन्द्र संसदिय दलका उपनेता रामकुमार राईले किराँत पहिचान सहितको प्रदेशको नामाकरण गर्न आफनो दलका सबै सांसदहरु तयार रहेको र अरु दलहरु पनि भनेर हैन व्यवहारले तयार हुनुपर्ने बताए । समाजिक विकास मन्त्री राजन राईले किराँत सहितको नामाकरण समय सान्दर्भिक रहेकोले आफुहरु निरन्तर प्रयत्नमा लागिरहने प्रतिबद्धता जनाए । काँग्रेस संसदिय दलका प्रमुख सचेतक सुयर्माराज राईले काँग्रेस पहिचान विरोध पार्टी नभएकोले पहिचान सहितको छलफलका लागि तयार रहेको बताए । 

‘किराँत सभ्यता’ पुस्तक विमोचन कार्यक्रममा प्राडा टंक न्यौपाने , डा धनप्रसाद सुबेदी , पत्रकार महासंघ प्रदेश १ समिति अध्यक्ष लिलाबल्लभ घिमिरे किराँत राई यायोक्खा केन्द्रिय अध्यक्ष दिवस राई लगायतले किराँत साझा प्राचिन  सभ्यता भएकोले पहिचानका आधारमा प्रदेशको नामाकरण भएमात्र संघीता बलियो हुनेमा जोड दिए ।