विराटनगर । मोरङको कटहरी गाउँपालिकाले बनाएको सडक स्थानीय एक व्यापारीले डोजर लगाएर भत्काइ दिएका छन् ।

कटहरी–२ आदर्श टोलको रिङरोड जोड्ने सडक बिहीबार दीपक राठीले डोजर लगाएर भत्काइदिएका हुन् । जग्गाधनी राठीले एकलौटी तरिकाले मनलाग्दी रूपमा सडक अपायक भएको भन्दै गाउँपालिकाले बनाएको सडक भत्काएका हुन् । सडक भत्काउने राठी कटहरीमा रहेको गोपाल फन पार्कका सञ्चालक हुन् ।

कटहरीको आदर्श टोलबाट कुकुरपुल अगाडिको करिब २ समय मिटर सडक राठीले डोजर लगाएर भत्किाइदिएपछि आवागमन ठप्प भएको छ । आदर्श टोल हुँदै कटहरी गाउँपालिका २ नम्बर वडा कार्यालयअगाडिको रिङरोड जोड्ने सडक हो ।

करिब दुई वर्षअगाडि उक्त सडकको ट्रयाक खोलेको थियो । सो सडकछेउमा स्थानीय गौतम प्रधानको ६० प्रतिशत र राठीको ४० प्रतिशत जग्गाको बीचबाट सडक निकालेको थियो । आर्थिक वर्ष २०७७/०७८ मा गाउँपालिकाको ५ लाख लागतमा आदर्श टोलअगाडि ग्राभेल सडक बनाएको हो । सडकको चौडाइ २० फिटको रहेको छ ।

ग्राभेल गरेको सडकको मोटाइ एक मिटरको थियो । सडक भत्काएपछि गाउँपालिकाले बिहीबार स्काभेटर नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्यालय मोरङलाई बुझाएको कटहरी गाउँपालिकाका अध्यक्ष देवराज चौधरीले जानकारी दिए । जनताको करबाट बनेको सडक भत्काएको पाइएपछि स्काभेटर नियन्त्रणमा लिएर कारबाहीको प्रक्रिया अगाडि बढाएको उनले बताए ।

‘रिङरोडको अवधारणाअनुसारको सडक हो । कटहरीका ७ वटै वडालाई छुने गरी रिङरोड बनाइएको छ । कटहरी २ नं. वडा कार्यालय हुँदै जाने सडक एक्कासि भत्काएको पाइयो’ कटहरी गाउँपालिका अध्यक्ष चौधरीले भने, ‘गाउँपालिकाले बनाएको सडक कसैले भत्काउन पाउँदैन । यसरी सडक भत्काउने डोजर अहिले प्रहरीको नियन्त्रणमा रहेको छ ।’

सडक भत्काउनेलाई सरकारी सम्पत्ति हिनामिना गरेको भन्दै प्रहरीमा उजुरी दिएर थप कारबाहीको प्रक्रिया अगाडि बढाउने उनले बताए ।

कटहरी–२ आदर्श टोलका रामचन्द सहनीले हुकुमी शैलीमा जनताको करबाट बनाएको सडक भत्काएपछि अहिले आवत–जावतमा समस्या भएको बताए । ‘आदर्श टोल हुँदै विराटनगर यही सडकबाट जाने गरेका थियौं’ स्थानीय सहनीले भने, ‘अहिले सडक डोजर लगाएर भत्काएपछि आदर्श टोल र वडा कार्यालय जोड्ने सडक ठप्प भएको छ ।’

सडक भत्काएपछि कटहरी–२ का जनताले सास्ती पाएको उनले बताए । अहिले आदर्श टोलका बासिन्दा कुनै सेवाका लागि वडा कार्यालय जानुप¥यो भने हाटखोला–रङ्गेली सडक भएर घुमेर जानुपर्ने बाध्यता भएको उनले बताए । यसरी मनलाग्दी रूपमा आफुखुसी सडक भत्काउनेलाई कडाभन्दा कडा कारबाहीको माग पनि स्थानीयले गरेका छन् ।

यता जग्गाधनी राठीले आफ्नो नम्बरी जग्गाबाट आफूलाई कुनै जानकारीविना सडक बनाएपछि भत्काएको बताए । ‘हामीले पुलबाट सिधा सडक लैजानु भनेका छौं’ उनले भने, ‘तर, यहाँ बजेट सक्न मेरो नम्बरी जग्गाबाट घुमाएर बाटो लगियो । त्यही भएर मैले सडक भत्काएको हुँ ।’

sadak-22