बिर्तामोड । २०२८ सालको झापा विद्रोहका नेता केपी शर्मा ओली २ पटक मुलुकको प्रधानमन्त्री भए । त्यसबेलाका सयौं सहयोद्धा ‘लाभको पद’ मा पुगे । तर, झापा विद्रोहका केही योद्धा भने गाँस र बासका लागि समाज गुहार्ने अवस्थामा छन् ।

झापा विद्रोहका एकजना योद्धा अर्जुनधारा नगरपालिका–१ का मानकुमार तामाङको भने चन्दा उठाएर ओत लाग्ने घर निर्माण गरिएको छ । अर्जुनधारा स्थायी बसोबास भएका लेखक तथा पत्रकार कुमार भट्टराईलगायत पत्रकारहरूको अगुवाइमा निर्माण भएको घर गत दशैंकोफूलपातीको दिनदेखि बनाउन सुरु गरिएको थियो । मानकुमारकै आग्रहमा निर्माण गर्न सुरु भएको घर बुधबार हस्तान्तरण गरिएको छ ।

भट्टराईको सक्रियतामा झण्डै १०लाखको लागतमा मानकुमारको घर निर्माण भएको हो । अर्जुनधारा नगरपालिकाले ३ लाख उपलब्ध गराएपछि हौसिएका भट्टराईले दाताको सहयोगमा घर निर्माण गरेर हस्तान्तरण गरेको बताए । नेपाली काङ्ग्रेस पृष्ठभूमिका भट्टराईले बामपन्थी आन्दोलनका योद्धा मानकुमारको घर निर्माण गरेर राजनीतिक रूपले पनि उनका सहयोद्धाहरूलाई जवाफ दिएको बताएका छन् ।

अर्जुनधारा–१ स्थित जीर्ण र ढल्न लागेको घरमा मानकुमार भने अभावकै जिन्दगी बाँचिरहेका थिए । तर, अब घर पाएपछि भने उनको अनुहारमा हाँसो छाएको छ । उनले भने, ‘पार्टी र मेरा छोराहरूले हेरेनन् । तर, मलाई हेर्ने अरू छोराहरू रहेछन् । उनीहरूले मलाई साथ दिए ।’

अढाई दशकअघि बनाएको काठको सानो टाँडेघर जीर्ण भइसकेको थियो । पानी पर्दा त्रिपालले लुगाफाटा छोपेर जोगाउनु पथ्र्याे । जीर्ण बनिसकेको घरमा बस्ने वातावरण थिएन । हिउँदमा चिसो सिरेटोले कोठाभित्र बस्न सक्ने अवस्था थिएन ।

त्यस्तै पीडामा बसिरहेका मानकुमार दम्पतीले बुधबार नयाँ घर जिम्मा लिए । निर्माण समितिले एक कार्यक्रम गरेर उनीहरूलाई घर जिम्मा लगाएको हो । निर्माण समितिका संयोजक कुमार भट्टराई, स्थानीय तहको निर्वाचनमा कन्काई नगरपालिकाका लागि मेयर पदका स्वतन्त्र उम्मेदवार शेरबहादुर थापालगायतले उनीहरूलाई गृह प्रवेश गराए ।

घर पाएपछि प्रफुल्ल मुद्रामा मानकुमारले भने, ‘हरेक किसानले बस्ने घर पाउन् भनेर आन्दोलन गरियो । तर, आफ्नै घर भएन । अब बुढेसकालमा भए पनि घर पाएँ । धन्यवाद छ तपार्इंहरूलाई ।’ ७५ वर्षीय मानकुमार तामाङ र ६८ वर्षीया बिरामी पत्नी फूलमाया बुधबारदेखि सोही नयाँ घरमा बस्ने योजनाका साथ गृह प्रवेश गरेका छन् ।

मानकुमारले नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीसँगै कठोर जेल जीवन बिताएका थिए । तत्कालीन शासन पद्धति तथा शोषक(सामन्तविरुद्ध लड्दा १७ वर्ष जेलमा बस्नुपरेको अनुभव उनीसँग ताजै छ ।

भूमिहीन तामाङले राधाकृष्ण मैनाली, सीपी मैनाली, ओलीलगायतका कम्युनिष्ट नेताको नीति निर्देशनमा रहेर काम गरे । घरपरिवार, बालबच्चा छाडेर भूमिगत युद्ध लडेका उनी २०२९ सालमा पक्राउ परेका थिए । पैसा कमाउने उमेर र समय कम्युनिष्ट पार्टी निर्माणमा खर्चिएका उनी यतिबेला सुकुम्बासी छन् । मानकुमार भन्छन्, ‘जति लडे पनि नहुँदो रहेछ । अहिले नेताहरूको बिलासिता जीवनशैलीले यस्तै अनुभव भोग्दैछु ।’

२०४९ मा उनकी पहिलाकी श्रीमती शोभाको ब्लड क्यान्सरका कारण निधन भयो । कान्छी फूलमायापट्टि एक छोरा र एक छोरी भए । छोरीको पनि दुई वर्षअघि निधन भयो । पैसा कमाउन दशकअघि भारतको कोइलाखानी गएका छोराको अहिलेसम्म अत्तोपत्तो छैन । पाँच कठ्ठा ऐलानी जमिनमा उब्जाएको बालीले मानकुमार दम्पतीलाई वर्षभरि खानै पुग्दैन । मानकुमारले भने, ‘हामीलाई दुई छाक खान धौधौ छ ।’