विजयपुर । धरान उपमहानगरपालिकाले खोला ठेक्का लगाएर उत्खनन् नगर्ने निर्णय गरे पनि धरान–५ आसपासका खोला रातारात दोहन भइरहेको छ । खोला दोहनमा प्रहरीको पनि संलग्नता रहेको आरोप लागेको छ ।

धरान–५ आसापासका अँधेरी सेउतीलगायतका खोला रातारात दोहन भइरहे पनि प्रहरीले नियमन र नियन्त्रण नगर्दा खोला दोहनमा प्रहरीकै संलग्नता रहेको आशङ्का स्थानीयवासीले व्यक्त गर्दै आएका छन् । स्थानीयले रातको ८ बजेपछि खोला दोहन हुने गरेको बताउँदै आएका छन् । ब्लाष्टले स्थलगत रूपमा रिपोर्टिङ गर्दा पनि साढे ११ बजे खोला दोहन गरेको पाइएको थियो । खोला दोहनमा स्थानीय प्रहरीको संलग्नता हुने गरेको स्थानीयवासी मात्र होइन, जनप्रतिनिधिले पनि बताएका छन् ।

सोमबार धरान उपमहानगरको आर्थिक वर्ष २०७८/७९ को दोस्रो अर्धवार्षिक सार्वजनिक सुुनुवाइ कार्यक्रममा धरान–५ का अध्यक्ष मनप्रसाद लिम्बूले खोला दोहनमा प्रहरीको संलग्नता हुने गरेको आरोप लगाए । अध्यक्ष लिम्बूले रातारात खोला दोहन हुने गरेको स्थानीयले बताएपछि राति अनुगमनमा निस्कँदा २ पटक अवैध रूपमा खोला दोहन गरिरहेको भेट्टाएको बताए ।

उनले भने, ‘स्थानीयले खबर गरेपछि राति अनुगमनमा निस्कँदा ३ वटा ट्याक्टरले गिट्टी, ढुङ्गा उठाउँदै गरेको भेटेँ ।’ उनीहरूलाई पहिलो पटक भएकाले सम्झाएर पठाएको उनले बताए । उनले भने, ‘उपमहानगरले नीतिगत रूपमा उत्खनन् गरेको समयमा लानू, यसरी चोरेर लाने काम नगर्नू भनेर पठाएको छु ।’

पुनः अर्को पटक पनि राति अनुगमनमा निस्कँदा डोजर र टिपरसहित ५ सवारी साधनले दोहन गर्दै गरेको भेटेको उनले बताए । उनीहरू पहिले भेटेको भन्दा फरक व्यक्ति भएकाले सम्झाएर नै पठाएको बताए । उनले भने, ‘दुवैलाई पुनः भेटेमा कानूनी कारबाहीका लागि प्रक्रिया अघि बढाउँछु भनेको छु ।’ उनले प्रतिष्ठित व्यक्तिबाट उत्खनन् हुने गरेको बताए ।

उनले पछि पुनः स्थानीयले खबर गरेपछि प्रहरीलाई खबर गर्दा प्रहरीले खोला दोहन नभएको दाबी गरेको बताए । उनले भने, ‘प्रहरीलाई दोहन भइरहेको बताउँदा कहाँ भयो ? कसले भन्यो ? मलाई नम्बर दिनू भने, अनुगमनमा जाँदा दोहन भइरहेको रहेछ ।’ उनले आफूलाई वास्तविक जानकारी आई प्रहरीलाई भन्दा पनि दोहन नभएको बताउनुले प्रहरीको संलग्नता पुष्टि भएको बताए ।

यता देउराली प्रहरी चौकीका इन्चार्ज गजेन्द्र श्रेष्ठले भने आफ्नो संलग्नता नरहेको बताए । उनले भने, ‘जनशक्तिको अभावले सुरक्षामा समस्या भएको हो ।’ धेरै पटक उत्खनन् गरेको सामग्रीसमेत बरामद गरेको उनले बताए । उनले अध्यक्षसँग सवाल–जवाफ नभएको दाबी गरे । उनले भने, ‘अध्यक्षसँगै धेरै पटक भेटेका छौँ । उहाँको पनि भोटर भएकाले कहिलेकाहीँ छोड्नुहुन्छ ।’ उनले आफूले सकेसम्म सुरक्षा दिइरहेको बताए ।

५ जना जनशक्ति मात्रै भएकाले समस्या भएको बताए । उनले भने, ‘मेयर र अध्यक्षलाई वनको रेञ्जरसहितको पोष्ट राखौँ भनेको छु ।’ धरान उपमहानगरका प्रमुख हर्कराज राईले खोला दोहन नरोकिए सशस्त्र प्रहरी बल मगाएर राख्ने बताए । सार्वजनिक कार्यक्रममा सार्वजनिक शौचालयमा शुल्क, खानेपानी व्यवस्थापनलगायतका विषयमा कुरा उठेको थियो ।