धनकुटा । माटो जोगाऔँ अभियान लिएर अभियन्ताका रूपमा दौडमा निस्किएका पर्वत जिल्ला घर भएका नवीन पुन मगर बिहीबार धनकुटा आइपुगेका छन् ।

गत जेठ ३० गते काठमाडौँदेखि माटो बचाउने अभियान लिएर दौड सुरु गरेका नवीन करिब एक हजार किलोमिटर दौडेर धनकुटा आइपुगेका हुन् । उनले ३ हजार ५ सय किलोमिटर दौडेर ७ वटै प्रदेश ७७ जिल्ला पुग्ने लक्ष्य लिएको बताए । माटोको उर्वराशक्ति जोगाउनका लागि देशव्यापी अभियान सुरु गरेको बताउँदै पुनले भने, ‘उत्पादनको नाममा प्रयोगकर्ताले माटोमा विष हालिरहेका छन् ।’

उनले देशव्यापी दौडबाट रासायनिक मलको कारणले माटोमा जैविक मात्रा घट्दै गएकाले माटो बचाउन प्राङ्गारिक मल लगाएर अग्र्यानिक खेतीलाई प्रोत्साहन गर्न जैविक मलको प्रयोग बढाउने सन्देश फैलाउन आफू देशव्यापी दौडमा निस्किएको बताए ।

माटोको उत्पादन क्षमतामै ह्रास आएको र विषादीको प्रयोग बढेकोले कारणले उत्पादकत्व बढाउन माटोको जैविकपन जोगाउन जरुरी रहेको उनको भनाइ छ । यही रफ्तारमा जैविक मात्रा घट्दै गए अबको ५० देखि ६० वर्षमा खानका लागि मानिस–मानिसबीच युद्ध हुने उनको भनाइ छ ।

काठमाडौँबाट दौड सुरु गरेको २४ औँ दिनमा धनकुटा आइपुगेका पुनले सरकारी निकायबाट नीतिगत रूपमै रासायनिक मललाई हटाएर प्राङ्गारिक मल प्रयोगलाई प्रोत्साहन गर्न आवश्यक रहेको बताए । सरकारले माटो जोगाउने नीति तथा कार्यक्रमहरू ल्याउनुपर्ने पुनको भनाइ छ ।

माटो जोगाउन सुरु भएको दौडलाई ७० दिनमा सातै प्रदेशको ७७ जिल्ला पूरा गरिने उनले बताए । हालसम्म आफूले १९ जिल्ला दौडेर पूरा गरेको जानकारी दिए । पुनले आफ्नो अभियानको बारेमा धनकुटामा पत्रकार सम्मेलन गरेर जानकारी गराए ।

उनको अभियानलाई धनकुटाका धावक डेविड खेवाले जिल्ला सदरमुकाम धनकुटादेखि पाख्रीवाससम्म साथ दिएका छन् । अभियानमा सनम लिम्बू, अजय भण्डारी र निर्मल श्रेष्ठले साथ दिइरहेका छन् ।