धरान । आमाको साथमा मावल जाँदै गरेको अवस्थामा ७ वर्षीय बच्चाको चट्याङ लागेर ज्यान गएको छ ।

जिल्ला प्रहरी कार्यालय सोलुखुम्बुका अनुसार आमा पाकमाया तामाङसँग मावल जाने क्रममा वर्षासँगै परेको चट्याङ लागेर ७ वर्षीय बालक सुजनको घटनास्थलमै मृत्यु भएको हो ।

थुलुङ दूधकोशी गाउँपालिका–९ का उनीहरू मावल जाँदै गरेको अवस्थामा साँझ साढे ७ बजेतिर चट्याङ लागेको हो । यता आमा पाकमाया भने सकुशल रहेको प्रहरीले जनाएको छ ।

यस्तै उदयपुरको चौदण्डीगढीमा साँझ साढे ६ बजेतिर २५ वर्षीय रोशन चौधरीको पनि चट्याङ लागेर मृत्यु भएको छ । खेतमा काम गरिरहेका समयमा उनलाई वर्षासँगै आएको चट्याङ लाग्दा घाइते बनेका थिए ।

उनलाई तत्काल स्थानीय अस्पतालमा उपचारका लागि पुर्याइए पनि उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ । उनी चौदण्डीगढी नगरपालिका–५ बासिन्दा हुन् ।