भोजपुुर । भोजपुरको पौवादुङ्मा गाउँपालिकामा स्थानीयलाई स्वरोजगार बनाउन २९ लाख रुपैयाँ बराबरको उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको छ ।

गाउँपालिकावासीलाई उद्यमसँग जोड्दै स्वरोजगार बनाउने उद्देश्यले उद्यमशीलता कार्यक्रम सञ्चालन गरिएको हो । केन्द्र सरकारबाट आएको सशर्त बजेटबाट स्थानीयलाई विभिन्न सामग्री हतान्तरण गर्नुका साथै तालिमसमेत दिइएको छ । गरिबी निवारणका लागि लघुउद्यम विकास कार्यक्रम अन्तर्गत स्थानीयलाई तालिमसँगै आवश्यक सामग्री हतान्तरण गरिएको गाउँपालिका अध्यक्ष किरण राईले बताए ।

कार्यक्रममार्फत् वडानम्बर ४ बास्तिम र वडानम्बर ५ सानोदुम्माका ६४ जनालाई १ लाख ८२ हजार ४ सय रुपैयाँ बराबरको ८ दिने उद्यम विकास तालिम दिइएको छ ।

यस्तै वडानम्बर ५ मै १० जनालाई ३ महिने ढाका बुनाइ तालिम र ९६ हजार मूल्य बराबरको १० थान ढाकाको तान हस्तान्तरण गरिएको छ । १८ जनालाई ७ दिने साबुन बनाउने तालिम र २८ हजार ५ सय मूल्य बराबरको १ थान साबुन कटर मेसिन वितरण गरिएको अध्यक्ष राईले जानकारी दिए । अध्यक्ष राईका अनुसार बास्तिमका १६ जना किसानलाई तालिमसँगै १५ केजी गड्यौला र २५ हजार बराबरको भर्मिक बेडसमेत वितरण गरिएको छ ।

यता वडानम्बर २ तिवारीभञ्ज्याङका ११ जना लघु उद्यमीलाई १ महिने स्तरोन्नतिसम्बन्धी सीप विकास तालिम दिइएको छ । कार्यक्रम अन्तर्गत वडानम्बर १ श्यामशिलाका ७ जनालाई १५ दिने हाउस वायरिङ तालिम दिइएको उपाध्यक्ष जोत्सना राईले बताइन् । सोही कार्यक्रमअन्तर्गत २० जना उद्यमीलाई २० थान स्प्रेयर वितरण गरिनुुका साथै ७ जना टेलरिङ व्यवसायीलाई ९९ हजार बराबरको सिलाइ मेसिन वितरण गरिएको छ ।

यस्तै ९ जनाको कृषक समूहलाई ८० हजार ९ सय मूल्य बराबरको एक थान हाते ट्याक्टरसमेत वितरण गरिएको गाउँपालिकाले जनाएको छ । तालिमसँगै विभिन्न सामग्री पाएपछि गाउँपालिकावासी खुुसी भएका छन् ।