भद्रपुर । झापामा हात्तीको समस्याको दीर्घकालीन समाधानका लागि सांसद्हरू, प्रमुख जिल्ला अधिकारी, नगर प्रमुख, उपप्रमुख, वडाध्यक्ष, प्रहरी उपरीक्षकलगायतको टोलीले बाहुनडाँगीको सीमा क्षेत्रमा निरीक्षण गरेको छ ।

प्रतिनिधिसभा सदस्य राम कार्की, प्रदेश सभा सदस्यहरू श्रीप्रसाद मैनाली, राधा थापा, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, निवर्तमान नगर प्रमुख विमल आचार्य, उपप्रमुख मीना पोखरेल उप्रेती, वडाध्यक्ष अर्जुनकुमार कार्की, जिल्ला प्रहरी कार्यालय झापाका प्रमुख विश्वमणि पोखरेल, सशस्त्र प्रहरी २ नम्बर गण झापाका प्रवक्ता प्रेम भण्डारीलगायतको टोलीले भारतबाट हात्ती छिर्ने मुख्य सीमा नाका मेचीनगर–४ स्थित भन्सार गौंडाको मलामी टोलमा निरीक्षण गरेका हुन् ।

मेचीनगरका जनता वर्षौंदेखि हात्तीबाट पीडित बनेको नगरप्रमुख बुढाथोकीले  जानकारी गराएका थिए । उनीहरूको समस्या दीर्घकालीन समाधानका लागि स्थानीय, प्रदेश र सङ्घीय सरकार लाग्ने बताए । यसअघि भन्सार गौंडामा हात्ती छेक्न केही ठाउँमा तटबन्ध गरिए पनि त्यसको दायाँ–बायाँबाट हात्तीहरू छिरिरहेका छन् ।

हात्ती छेक्न तत्काल विद्युतीय तारबारलाई मर्मत गर्नुको विकल्प नरहेको प्रमुख बुढाथोकीले बताए । यसका लागि कार्यपालिकाको बोर्ड बैठकले निर्णय गरिसकेकाले अब सीमा क्षेत्रमा चाँडै विद्युतीय तारबार मर्मत गरिने जानकारी गराए ।

उनले मेचीनगर–६ को बर्मेली टोलदेखि इलाम–सलकपुरछेउ तिरिङसम्मको करिब २५ किलोमिटर नेपालतर्फ तटबन्ध निर्माण गर्न जरुरी रहेको बताए । त्यसका लागि करिब १ अर्ब बजेट आवश्यक पर्ने उनको अनुमान छ । तटबन्ध गर्नसके भारतबाट हात्ती नआउने, नदी नियन्त्रण र सिद्धिखोलाको नहरलाई त्यहाँ जोड्न सकिने बुढाथोकीले बताए । झापाका प्रमुख जिल्ला अधिकारी छविलाल रिजालको संयोजनमा हात्तीको समस्याका विषयमा बृहत् छलफल गरी अवधारणा बनाएर केन्द्रको ध्यानाकर्षण गराउने योजना रहेको जनाए ।

मेचीनगर–४ का वडाध्यक्ष कार्कीले भन्सार गौंडामा मात्र सांसद्को टोलीलाई भारतबाट हात्ती आउने ठाउँ र त्यहाँका समस्याका बारेमा जानकारी गराउँदै स्थानीय २० जनालाई हात्ती धपाउन टर्चलाइट वितरण गरेका थिए ।

त्यस्तै मानव–हात्ती द्वन्द्व व्यवस्थापन तथा वातावरण संरक्षण मञ्चका अध्यक्ष हरिप्रसाद उप्रेती, स्थानीय शङ्कर लुइटेललगायतले हात्तीबाट भएको मानवीय तथा धान बालीको क्षति, समस्या र समाधानका विषयमा टोलीलाई अवगत गराएका थिए ।

सबैभन्दा पहिले निर्माण गरिएको बाहुनडाँगीको तिरिङदेखि दक्षिण काँकडभिट्टा छेउसम्मको १८ किलोमिटर विद्युतीय तारबारमा भारतबाट आउने हात्तीको बथानले तोडफोड गरेको पाइएको छ । भारतबाट १ सय को हाराहारीमा हात्ती आउने गर्दा तिनलाई धपाउन सकिने सम्भावना हुँदैन । अर्कातिर स्थानीय जङ्गलमा एक दर्जन रैथाने हात्ती छँदैछन् । 

विगतमा हात्ती छेक्न लगाएको सोलार फेन्सिङ (विद्युतीय तारबार) भत्किएर कामै नलाग्ने अवस्थामा पुगेपछि दिनहुँ हात्तीहरू हुलका हुल छिरिरहेका छन् । स्थानीयको धानबालीमा क्षति पुगेको छ भने घर भत्काउने, मानिसलाई घाइते बनाउने र मार्नेसम्मको हर्कत हात्तीले गरिरहेको स्थानीयको भनाइ छ ।

यसमा तीनवटै सरकारले ध्यान दिएको अवस्था छैन । हात्तीबाट धानबालीकोे क्षति हुँदा सरकारले सामान्य राहतबाहेक अरू केही दिएको छैन ।  झापामा जङ्गली हात्तीका कारण ५३ जनाले ज्यान गुमाइसकेका छन् । जसमा ५ जना भुटानी शरणार्थी बेलडाँगी शिविर दमकका रहेका छन् । बर्सेनि करोड बढी धनजनको क्षति हुँदै आएको छ । त्यस्तै १३ वटा हात्ती मान्छेका कारण मरेका छन् । झापामा हाल १३ वटा रैथाने जङ्गली हात्ती रहेको अनुमान गरिएको डिभिजन वन कार्यालय  झापाले जनाएको छ ।