विजयपुर । गर्मीको समयमा अत्यधिक प्रयोग हुने पेय पदार्थमध्येको ‘पेप्सी कम्पनी’को बन्द बोतल भित्र अखाद्य वस्तु फेला परेको छ ।

धरान–२ का उपभोक्ता पशुपति तामाङले खरिद गरी खान लागेको अवस्थामा बन्द बोतलभित्र अखाद्य वस्तु भेटिएको बताए । उनका अनुसार पेप्सीको बोतल भित्र विभिन्न दानाहरू रहेका थिए । उनले भने, ‘पिउनका लागि लिएको थिए । खान लाग्दा दानादाना भएको देखेपछि नखाई राखेको छु ।’ उनले पेय पदार्थका कम्पनीहरूले लापरबाही गरी मानव स्वास्थ्य खेलवाड गरेको बताए । पेय पदार्थसँग सम्बन्धित कम्पनीहरूले लापरबाही गरे पनि सरोकारवाला निकायले चासो नदेखाएको उनले बताए ।

उनले अखाद्य वस्तु खरिद बिक्री गर्ने कम्पनीलाई कारबाही गर्न माग गरे । अर्का उपभोक्ता विकल कार्कीले पनि पेय पदार्थ (स्प्राइट) मा अखाद्य पदार्थ भेटिएको बताए । उनले आफूले पिउन ल्याएको स्प्राइटको बोतलमा कालो देखिने लेउ जस्तो पदार्थ भेटेको बताए । स्प्राइटको थोक बिक्रेतालाई सोध्दा उल्टो बिर्कोमा चुहावट हुँदा लेउ पर्ने भन्दै पन्छिएको उनले बताए ।

थोक बिक्रेताले सामान्य भएको बताउँदै परीक्षणका लागि भन्दै बोतल लगेको उनले बताए । उनले भने, ‘उत्पादक कम्पनी र डिलरलाई सानो कुरा होला तर उपभोक्ताका लागि ठूलो कुरा हो । स्वास्थ्यमा असर परे कसले जिम्मा लिने ?’ उनले बोतलमा भएको वस्तुबारे आफूलाई जानकारी दिनुपर्ने बताए ।

यता थोक बिक्रेताका सञ्चालक भुपेन्द्र अधिकारीले ल्याउने क्रममा बिर्कोमा चुहावट भएकाले समस्या आउने भन्दै पन्छिए । उनले भने, ‘प्रायः लिकेज भएका सामान बजार पठाउँदैनौं । सामान्य लिकेज नदेखिने हुँदा बजारमा जान्छ ।’ उनले आफूले पनि उपभोक्ताको स्वास्थ्यमा ध्यान दिएर गुणस्तरहीन वस्तु बजार नपठाउने दाबी गरे ।

त्यस्तो भेटिएमा साटिदिने गरेको उनको भनाइ छ । यस विषयमा धरान उपमहानगरका बजार अनुगमन अधिकृत वेदप्रसाद सापकोटाले बजार अनुगमनका क्रममा भेटिएमा कारबाहीका लागि जिल्ला प्रशासन कार्यालयलाई सिफारिस गर्ने बताए । उनले कुनै पनि वस्तुमा समस्या देखिएमा उपमहानगरमा जानकारी गराउन उपभोक्तालाई आग्रह समेत गरे । त्यस्ता वस्तु खरिद बिक्री गर्नेलाई सम्बन्धित निकायले कारबाही गर्ने उनले बताए ।

खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय इनरुवाका खाद्य अनुसन्धान अधिकृत काशीनाथ घिमिरेले मिति नाघेका वस्तु भेटिएमा नष्ट गर्ने बताए । उनले भने, ‘डेट एक्सपयार छ भने परीक्षण नगरी नष्ट गर्छौ । डेट एक्स्पाएर छैन भने परीक्षण गर्दा अखाद्य भेटिएमा खाद्य ऐनअन्तर्गत कारबाहीका लागि सम्बन्धित स्थानमा सिफारिस गर्छौ ।’

खाद्य ऐन २०२३ को दफा ३ मा दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन तथा बिक्री वितरण गर्न नपाउने व्यवस्था छ । उक्त दफामा कुनै व्यक्तिले दूषित खाद्य पदार्थ वा न्यूनस्तरको खाद्य पदार्थको उत्पादन, बिक्री वितरण, निकासी वा पैठारी गर्न वा सो मध्ये कुनै कामका लागि त्यस्तो खाद्य पदार्थ राख्न नपाइने व्यवस्था रहेको छ ।

सोही ऐनको दफा ५ मा दण्ड सजायसम्बन्धी व्यवस्था छ । दफा ५ को उपदफा (१) मा दफा ३ विपरीतको कार्य गर्ने व्यक्तिलाई ५ वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ । दफा ५ को उपदफा (२) मा उपदाफा (१) मा लेखिएको बाहेक यो ऐन वा यस ऐनअन्तर्गत बनेको नियम वा आदेशको अन्य कुनै कुरा उल्लङ्घन गर्ने व्यक्तिलाई १० हजार रुपैयाँसम्म जरिबाना हुने व्यवस्था छ । साथै उपदफा (३) मा कसैले यस ऐन बमोजिमको कुनै कसुर गरी कसैलाई हानि, नोक्सानी पु¥याएमा त्यस्तो कसुरदारबाट सम्बन्धित पीडितलाई मनासिब क्षतिपूर्ति समेत दिनु पर्ने उल्लेख छ । तर, यस्तो कानूनी व्यवस्था भए पनि सम्बन्धित निकायले नियमन नगर्दा मानव स्वास्थ्यमा खेलबाड भइरहेको छ ।