विजयपुर । जनता समाजवादी पार्टी नेपालको दलित सङ्गठन शिल्पी विशेष समितिले जेठ २१ सार्वजनिक बिदा दिन माग गरेको छ ।

समितिले छुवाछुतमुक्त राष्ट्र घोषणा भएका दिन भएकाले प्रदेशमा सार्वजनिक बिदाको माग गर्दै १ नं. प्रदेशका मुख्यमन्त्री राजेन्द्रकुमार राईलाई बिहीबार ध्यानाकर्षण पत्र बुझाएको छ । जातीय भेदभाव तथा छुवाछुत उत्सव मनाउनका लागि व्यवस्थापन गर्न पनि समितिले माग गरेको छ ।

समितिले १ नं. प्रदेशका मुख्यमन्त्री राई र आर्थिक मामिला तथा योजनामन्त्री इन्द्र आङ्बोलाई ध्यानाकर्षण–पत्र बुझाएका हुन् । समितिका केन्द्रीय अध्यक्ष दलमर्दन कामीको नेतृत्वमा मुख्यमन्त्री राईलाई र प्रदेश समिति अध्यक्ष नरेश विश्वकर्माले अर्थमन्त्री आङ्बोलाई ध्यानकर्षण–पत्र बुझाएका हुन् ।

समितिले समानुपातिक रूपमा मन्त्रिपरिषद् विस्तार गर्न माग गरेको छ । समुदाय विकासका लागि अधिकार सम्पन्न शिल्पी÷दलित विकास समिति गठन गर्न माग गरेका छन् ।

राजनीतिक नियुक्तिहरूमा समानुपातिक गर्नुपर्ने, विपन्न, भूमिहीन, अव्यवस्थित बसोवासी तथा सुकुम्बासीहरूको लगत सङ्कलन गरी गाँस, बास, कपास साथै रोजगारका लागि निःशुल्क प्राविधिक तालिमको व्यवस्था गर्नुपर्ने, दलित समुदायको परम्परागत पेशा व्यवसायलाई व्यवसायीकरण र आधुनिकीकरण गर्न अुनदानको व्यवस्था गर्नुपर्ने, दलित समुदायका विद्यार्थीहरूलाई उच्च शिक्षा निःशुल्क गर्नुपर्ने, स्वास्थ्य उपचार र स्वास्थ्य बिमा निःशुल्क गर्न, दलित सांस्कृतिक सङ्ग्रहालय तथा प्रदेशमा शिल्पी विद्यालय स्थापना गर्न, अन्तरजातीय विवाह गर्ने जोडीलाई प्रोत्साहनका लागि तीनलाख रुपैयाँ प्रदान गर्न, वैदेशिक रोजगारमा जान चाहने युवाहरूलाई विना धितो ऋण प्रदान गर्नुपर्नेलगायतका माग गरेका छन् ।