यासोक । उत्तर–दक्षिण कोरिडोरहरु मध्ये सबैभन्दा छोटो दूरीको सडक तमोर कोरिडोर कालोपत्रे हुने भएको छ । पुष्षलाल (मध्यपहाडी) राजमार्ग तमोर कोरिडोर अन्तरर्गत सुनसरीको चतरा, मूलघाट, माझिटार हुर्दै पाँचथरको गणेशचोक सम्मको सडक कालोपत्रे गर्न बजेटको सुनिश्चितता भएको छ । धनकुटाको मूलघाट देखि पाँचथरको अमरपुरसम्मको १ सय १० किलोमिटर सडक कालोपत्रे हुने भएको हो ।
सडक कालोपत्रे गर्न भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले राष्ट्रिय योजना आयोग मार्फत श्रोत सुनिश्चितताका लागि अर्थ मन्त्रालयलाई सिफारिस गरेको थियो । सिफारिस आधारमा भौतिक पूर्वाधार मन्त्रालयले स्रोत सहमति प्राप्त गरेको छ । सोही अनुसार सरकारको नीति तथा कार्यक्रम मार्फत अर्थ मन्त्रालयले ५ अर्व ७६ करोड ८७ लाख रुपैयाँ कालोपत्रेको लागि स्रोत सुनिश्चितता गरेको अर्थमन्त्री जनार्दन शर्माका स्वकीय सचिव हर्कबहादुर नेम्बाङ (मिक्सो) ले जनाए ।
तमोर कोरिडोर सडक निर्माणको लागि दुई खण्डमा निर्माण कार्य थालिएको छ । पहिलो खण्ड अन्तरर्गत सुनसरीको चतरामूलघाट हुदै पाँचथरको सुभाङ खोला र दोश्रो खण्डमा सुभाङखोला–दोभान हुदै ताप्लेजुङको ओलाङचुङगोला सडक योजना रहेको छ ।
पहिलो खण्ड आयोजनाको लागि सुनसरीको धरानमा कार्यालय स्थापना गरिएको छ भने दोश्रो खण्डको लागि ताप्लेजुङको सदरमुकाम फुङलिङमा कार्यालय रहेको चतरामूलघाट–सुभाङ सडक योजना प्रमुख कुवेर नेपालीले जनाए । उनका अनुसार ‘सरकारले बजेट सुनिस्चित गरेको छ अब प्राविधिक तयारी एवं ब्यवस्थापनका लागि एक दुई महिना लाग्नेछ, त्यसपछी ठेक्का खुल्नेछ ।’
पाँचथर, तेह्रथुम, ताप्लेजुङ र धनकुटा गरी ४ जिल्लालाई छोटो दुरीमा तराई जोड्न उक्त सडकमा धमाधम काम भइरहेको छ । २०७४ सालमा देखि सुरु भएको योजनाले पूर्वका चार जिल्लालाई सुनसरीको चतरासम्म छोटो दुरीमा जोडेको छ ।
६ अर्ब २३ करोड ४९ लाख रुपैयाँको लगानीमा ७ प्याकेजमा काम हुदै आएको छ । तर अहिले पुनः सडक कालो पत्रे गर्न बजेटको सुनिश्चितता भएसंगै प्रदेश नं. १ का धनकुटा, तेह्रथूम, पाँचथर र ताप्लेजुङ जिल्लाबासीहरु उत्साहित भएका छन ।