बेलबारी । बेलबारी नगरपालिकाका जनप्रतिनिधिले सपथ ग्रहण गरेको भोलिपल्टै नगरपालिकाले चुनावको मुखमा वितरण गरेको ई–रिक्सा (सफारी) भुक्तानी नपाएपछि कम्पनीले फिर्ता लगेको छ ।
मोरङको बेलबारी–७ की पवित्रादेवी खतिवडा र बेलबारी–११ का सुवास तामाङलाई वैशाख ११ गते नगरपालिकाले उक्त सफारी प्रदान गरेको थियो ।
चुनावको मुखमा वितरण गरेको सफारी चुनाव सकिने बित्तिकै फिर्ता जानुले नगरपालिकाप्रति स्थानीय आक्रोसित भएका छन् । ग्रिन इनर्जी ट्रेड लिङ्क इटहरीको बिलमा के.बि. ई–रिक्सा सर्भिस सेन्टर बेलबारीबाट खरिद गरिएको हुलास कम्पनीको ती सफारी दुई लाख सत्तरी हजार मूल्य बराबरका रहेको के.बि. ई–रिक्सा सर्भिस सेन्टरका सञ्चालक रमेश श्रेष्ठले बताए ।
दुई लाख सत्तरी हजारमध्ये सत्तरी हजार ती सफारी प्रयोगकर्ता आफैले नगरपालिकालाई बुझाएको सफारी चालक सुवास तामाङकी श्रीमती बताउँछिन् ।
नगरपालिकामा भुक्तानी लिन जाँदा नगरपालिकाको बजेटमा यस प्रकारको शीर्षकमा रकम नरहेको भनेपछि आफूले मङ्गलबार ती दुई सफारी फिर्ता ल्याएको रमेश श्रेष्ठ बताउँछन् ।