धरान । अभिनेता बिक्रमडि जोशी धुलिखेलस्थित हेल्प नेपाल नेटवर्कले सञ्चालनमा ल्याएको अनाथालयलाई आर्थिक सहयोग जुटाउन ‘लन्डन टु पेरिस च्यारिटी राइड’ गर्ने भएका छन् ।

उनले करिब ३ सय ८७ किलोमिटर दूरी साइकलबाटै पूरा गर्ने जनाइएको छ । आउँदो शुक्रबार ६ जना नेपाली साथीहरूसहित च्यारिटी राइड गर्न लागिएको उनले जनाए । चिल्ड्रेन्स होम नामक अनाथालयलाई आर्थिक सहयोग जुटाउनका लागि च्यारिटी राइड गर्न लागिएको जनाइएको छ ।

जोशीले ‘ह्याप्पी डेज’, ‘पासवर्ड’ तथा ‘हेल्लो जिन्दगी’ फिल्ममा अभियन गरिसकेका छन् । साइकल यात्रा टिममा जोशीसहित सुलभ पन्त, सुशील प्रसाईं, मनोज श्रेष्ठ, प्रसिद्ध प्रधान, सुनिल कार्की र लक्ष्मण गुरुङ रहेका छन् । लन्डनको लन्डन पुलबाट यात्रा सुरु गरेर लगातार तीन दिन साइक्लिङ गर्दै आइतबार पेरिसको इफेल टावर पुग्ने लक्ष्य राखिएको छ ।

‘हाम्रो म्यानुअल साइकल (पाइडल घुमाउँदै) मार्फत् लन्डनबाट पेरिस पुग्ने प्लान छ’ अभिनेता जोशी भन्छन्, ‘साइकलमा यति लामो दूरी तय गर्ने प्रयास सायद पहिलोचोटी हुँदै छ ।’ उनले यस यात्राका लागि तीन साताअघिदेखि अभ्यास गरिरहेको बताए । यात्रा भने चार वर्षअघिदेखि योजना बनिरहेको थियो । लन्डनदेखि पेरिस यात्रामा बीचमा पर्ने समुद्रमा भने उनीहरू पानी जहाजमा यात्रा गर्नेछन् ।

उलवीच अर्सेनल राइडर्स क्लब (डब्लुएआरसी) र नेपाल युथ एसोसिएसन युकेको आयोजनामा साइकल यात्रा हुन लागेको हो । त्यसअवधिमा कम्तीमा ५ हजार पाउन्ड (करिब पौने ८ लाख रुपैयाँ) सङ्कलन गर्ने लक्ष्य लिइएको छ । हालसम्म विभिन्न देशबाट ९८ जनाले करिब ३ हजार पाउन्ड सहयोग गरिसकेका छन् ।