धरान । लिम्बू संस्कृतिमा आधारित नेपाली फिल्म ‘हाङ्नान्द’ निर्माण गरिने भएको छ ।

फिल्मको छायाङ्कन जेठ ४ गतेदेखि सुरु गरिने निर्माण युनिटले आइतबार धरानमा पत्रकार सम्मेलन गरी जानकारी दिएको हो । ‘हाङ्नान्द’ को शाब्दिक अर्थ ‘विजयी राजा’ भन्ने हुन्छ ।

फिल्मलाई मौलिक तथा कथानकअनुसारको निर्माण गर्न अधिकांश कलाकार पनि लिम्बू समुदायबाटै रहेका छन् । कलाकार एवम् लेखक हेमन्तकृष्ण पन्धाकले भने, ‘अरू समुदायका कलाकारहरूले लिम्बू कल्चर, मुन्धुमलाई बुझ्न र भूमिका निभाउन गाह्रो हुन्छ । त्यसकारण कलाकारहरू लिम्बू समुदायबाटै राखेका छौं ।’

फिल्म करिब २० दिनभित्र छायाङ्कन पूरा गर्ने तयारी गरिएको पहिलो पटक फिचर फिल्म निर्माण गर्न लागेका निर्देशक विजय सुब्बाले बताए । उनका अनुसार ताप्लेजुङको फक्ताङ्लुङ क्षेत्रमा अधिकांश फिल्म छायाङ्कन गरिने तयारी गरिएको छ । त्यस्तै सुनसरीको धरान, काठमाडौँमा अन्तिम छायाङ्कन गरिने भएको उनले बताए ।

फिल्ममा मुख्य भूमिकामा हेमन्तकृष्ण पन्धाक, सीता तुम्बाहाम्फे, चन्द्रधोज लिम्बू, युमारानी लिम्बू, विनोद पोमो, नवीन मेन्याङ्बो, उदय कुरुम्बाङ, हिमाल दाहाल र सङ्गीता लावतीलगायतको अभिनय रहने जनाइएको छ । करिब ६५ लाख रुपैयाँको लागतमा निर्माण गरिन लागिएको फिल्मलाई धनकुमारी लिम्बूले निर्माण गर्न लागेकी छन् ।

मुन्धुमी संस्कृतिलाई अन्तर्राष्ट्रियस्तरमा परिचित गराउन फिल्म निर्माण गर्न लागिएको निर्देशक सुब्बाले जानकारी दिए । उनले भने, ‘कन्टेन्ट राम्रो बनाएर प्रविधिलाई प्रयोग ग¥यो भने सफल भइन्छ होला । कतिपय अवस्थामा स्टार कास्टको फिल्म पनि असफल भएका उदाहरणहरू छन् ।’ हाङ्नान्दमा कथावस्तु पृथक रहेकाले पनि फिल्म चल्नेमा निर्देशक आशावादी देखिएका छन् ।

फिल्ममा सिनेमाटोग्राफर दीपक बज्राचार्य रहेका छन् भने सङ्गीतकार झुमा वनेम लिम्बूलगायतको सङ्गीत रहेको छ । पन्धाक फिल्म प्रोडक्सन प्रालिको ब्यानरमा फिल्म निर्माण हुन लागेको हो । लिम्बू जातिको मौलिक बाजा च्याब्रुङको ऐतिहासिक उत्पत्तिको विषयलाई समेटेर लेखिएको मौलिक कथालाई पटकथा भने निर्देशक सुब्बाले दिन लागेका हुन् ।