हिमाली जिल्ला मनाङको सदरमुकाम चामे र नार्पाभूमि गाउँपालिकाको मतगणना सकिएको छ । जिल्लाका चार  पालिकामध्ये ती दुई गाउँपालिकाको मतगणना सकिएको हो ।  

सडक सञ्जालमा नजोडिएको ती दुई गाउँपालिकाको गएराति १ बजे मतगणना सकिएको  हो । नार्पाभूमिको अध्यक्षमा नेपाली कांग्रेसका कोञ्जो तेञ्जिङ लामा निर्वाचत भएका छन्। उनले १५८ मत पाएर निर्वाचित भएका हुन् । उनका प्रतिस्पर्धी स्वतन्त्र उम्मेदवारले १११ मत पाएका थिए । नार्पाभूमिमा कूल ४४८ मतमध्ये ३०४ मत खसेको थियो ।

त्यस्तै चामे गाउँपालिकाको अध्यक्षमा नेकपा (एमाले) का लोकेन्द्रबहादुर घले निर्वाचित भएका छन् । उनले ३२० मतले अध्यक्षमा निर्वाचित भएका हुन् । कूल खसेको ६१० मतमध्ये घलेले ३२० मत प्राप्त गरे भने उनका प्रतिस्पर्धी कांग्रेसका छिरिङ ध्वर्जे लामाले २७७ मत प्राप्त गरेका छन् । चामेको उपाध्यक्षमा  कांग्रेसका मिङ्मार ढोमा लामा निर्वाचित भएका छन् । 

कम मतदाता भएको पालिकाको मतगणना सकिएको जिल्ला निर्वाचन कार्यालयका प्रमुख पुष्पराज शर्माले जानकारी दिए । उनका अनुसार मनाङ ङिस्याङ र नासो गाउँपालिकाको मतगणना जारी रहेको मुख्य निर्वाचन अधिकृत एवं जिल्ला न्यायाधीश पुनाराम खनालले बताए । मतगणना आज साँझसम्ममा सकिने उनले बताए । 

जिल्ला ६२।६० प्रतिशत मत खसेको छ । कूल छ हजार ४९६ मतदाता रहेकामा चार हजार ७७ मत खसेको मुख्य निर्वाचन अधिकृत खनालले बताए। सबैभन्दा धेरै तीन हजार ५३५ मतदाता रहेको मनाङ ङिस्याङमा एक हजार ६५७ मत अर्थात् ४६ दशमलव ८७ प्रतिशत मात्रै मत खसेको छ । नासो गाउँपालिकामा एक हजार ८०२ मतदाता रहेकामा एक हजार ४९६ मत अर्थात् ८३।०१ प्रतिशत मत खसेको छ ।

चामेमा ७११ मतदाता रहेकामा ६१० मत अर्थात् ८५।७९ प्रतिशत मत खसेको छ । नार्पाभूमिमा ४४८ मतदाता रहेकामा ३०४ मत अर्थात् ६७।८५ प्रतिशत मत खसेको थियो ।