स्थानीय तह निर्वाचन नजिकिँंदै जाँदा प्रमुख राजनीतिक दलका प्रमुख नेताहरू चुनावी अभियानमा देश दौडाहामा छन् । आफ्नो पार्टीका उम्मेदवारहरूलाई जिताउन विभिन्न ठाउँमा नेताहरू पुग्नु र उनीहरूको पक्षमा माहोल बनाउन सहयोग गर्नु स्वभाविक हो । यस्ता सभाहरूमा केन्द्रीयस्तरका नेताहरूले आफ्नो पार्टीका विकास योजनाहरू आम नागरिक समक्ष सुनाउने र सकेसम्म अन्य दलमा आस्था राख्ने मतदातालाई समेत आफ्नो दल र उम्मेदवारलाई मत दिन आकर्षित गर्नुपर्ने हो । तर, केही दिन यताका प्रमुख नेताहरूका भाषण सुन्दा उनीहरू पार्टीका विकास नीति तथा योजना सुनाउनभन्दा अर्को दल र नेतालाई गाली गर्न, अरूलाई गलत देखाएर आफू राम्रो बन्ने प्रयास मात्र गरिरहेका छन् ।

केही दिनअघि भरतपुरमा आयोजित गठबन्धनको आमसभामा बोल्दै नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहालले गठबन्धनलाई भोट नदिए देश दुर्घटनामा जान्छ भनेर भाषण गरे । उनको यो भाषणलाई धेरैले मतदाताप्रति दिइएको धम्कीका रूपमा बुझेका छन् । त्यस्तै नेपाली काङ्ग्रेस नेतृ आरजु देउवाले काङ्ग्रेसले नजितेका पालिकामा बजेट नपठाउने धम्की दिइन् । निर्वाचनको मुखमा मतदातालाई यसरी घुमाउरो पारामा धम्की दिइनु गलत थियो । नेताहरूले मतदातालाई धम्क्याउने मात्र होइन, अन्य दलका नेताहरूलाई गाली गर्ने गरेका छन् । अहिले भइरहेका धेरै आमसभाहरूमा नेताहरूले अन्य दलका नेतालाई गाली गरिरहेका छन् । त्यसो गर्नेमा प्रधानमन्त्री शेरबहादुर देउवा, माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली, नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधव नेपाललगायत छन् । आइतबार पोखरामा भएको गठबन्धनको सभामा प्रधानमन्त्री देउवाले एमाले अध्यक्ष ओली सङ्घीयता विरोध भएको आरोप लगाए । शनिबार धरानमा भएको सभामा ओलीले माओवादी अध्यक्ष दाहाललाई भिजेको मुसो जस्तो भएर काङ्ग्रेस वरिपरि घुमिरहेको आरोप लगाएका थिए । दाहालले पनि पोखराको सभामा एमालेसहितको गठबन्धनलाई राजावादी र गणतन्त्र विरोधी गठबन्धन भएको आरोप लगाएका छन् ।

यी केही उदाहरण मात्र हुन् । मौका पर्दा अधिकांश नेताले अर्काे पक्षका नेता विरुद्ध यसरी नै चर्को आरोप र गाली गर्ने गरेका छन् । आफ्नो पार्टीको नीति, सिद्धान्त र कार्यक्रमबारे मतदातालाई बताउनुको साटो अर्को दल र नेतालाई खराब देखाएर आफू चोखिने मानसिकता नै नकारात्मक छ । यही नकारात्मक सोचका कारण पनि हो, राजनीतिक दलहरूमा भिजनको विकास हुन नसकेको । राजनीतिक दलहरूले धम्की र गालीको राजनीति छाडेर विकासका एजेन्डाको बहस गर्नु आवश्यक छ । आरोप प्रत्यारोपको प्रतिस्पर्धा होइन, विकास दृष्टिकोणको प्रतिस्पर्धा हुनु जरुरी छ । नेपालको राजनीतिमा अर्कालाई गाली गरेर, दोष थोपरेर, आरोप लगाएर आफू राम्रो देखिन खोज्ने प्रवृत्ति नयाँ होइन । अहिलेका आम मतदाताले नेताहरूका आरोप प्रत्यारोपमा विश्वास गर्न छाडिसकेका छन् । त्यसकारण राजनीतिको यो पुरानो मोडल अहिलेको समयमा सान्दर्भिक छैन । अहिलेको पुस्ता गाली सुन्न, आरोप सुन्नका लागि होइन, नयाँ–नयाँ योजना सुन्न लालायित छ । राजनीतिक दलहरूले मतदातालाई मूर्ख नसम्झी अबका दिनमा आफूलाई सुधार्नु जरुरी छ ।