स्थानीय तहको चुनाव अब आठ दिन मात्र बाँकी छ । तर, चुनाव हुनुभन्दा अगाडि नै मुलुकभरका स्थानीय तहमा कुल ३ सय ५३ जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएर जनप्रतिनिधि बनिसकेका छन् । निर्विरोध निर्वाचित उम्मेदवारहरूको सङ्ख्या हेर्दा सबैभन्दा बढी नेकपा (एमाले)को भागमा परेको छ । यो एमालेको लागि शुभसङ्केत हो । निर्वाचन आयोगका अनुसार निर्विरोध निर्वाचित उम्मेदवारमध्ये एमालेबाट विभिन्न पदमा १ सय २३ जना छन् । जसमध्ये एमालेबाट अध्यक्षमा १, उपाध्यक्षमा २, वडाध्यक्षमा १४, सदस्यमा २६, महिला सदस्यमा २३ र दलित महिला सदस्यमा ५७ जना उम्मेदवारहरू निर्विरोध निर्वाचित भएका छन् । एकातिर एमाले एक्लैको बढी सङ्ख्यामा आफ्ना उम्मेदवार निर्विरोध निर्वाचित भइरहँदा सत्ता साझेदारी गरिरहेका पाँचदलीय गठबन्धन दलहरू नेपाली काङ्ग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी पार्टी), जनता समाजवादी पार्टी, जनमोर्चाबाट भने १ सय ९० जनामात्र निर्विरोध निर्वाचित भएका छन् । बाँकी ४० जना सत्ता गठबन्धनबाहिरका अन्य दलहरूबाट निर्वाचित भएका छन् । गठबन्धन दलमा नेपाली काङ्ग्रेसको १ सय १ जना उम्मेदवारमध्ये अध्यक्षमा १४, उपाध्यक्षमा १, सदस्यमा ३१, महिला सदस्यमा १५ र दलित महिला सदस्यमा ४० जना निर्वाचित भएका छन् ।

माओवादी केन्द्रबाट भने वडाध्यक्षमा ३, सदस्यमा ५, महिला सदस्यमा ७ र दलित महिला सदस्यमा ३९ गरी कुल ५४ जना निर्विरोध निर्वाचित भएका छन् ।  नेकपा (एकीकृत समाजवादी)बाट अध्यक्षमा २, वडाध्यक्षमा ६, उपाध्यक्षमा १, सदस्यमा १२, महिला सदस्यमा ७, दलित महिला सदस्यमा ६ जना निर्विरोध निर्वाचित भएका छन् भने जनता समाजवादी पार्टीबाट एक जना दलित महिला सदस्यमात्रै निर्वाचित भएकी छन् । गठबन्धनबाहिरका नेपाल किसान पार्टीबाट दलित महिला सदस्य २ जना, राष्ट्रिय प्रजातन्त्र पार्टीबाट २ जना सदस्य, लोकतान्त्रिक समाजवादी पार्टीबाट दलित महिला सदस्यमा २ र राष्ट्रिय जनमुक्ति पार्टीबाट महिला सदस्यमा १ जना निर्विरोध निर्वाचित भएका छन् । स्वतन्त्रबाट वडाध्यक्षमा ६ जना, सदस्यमा १६, महिला सदस्यमा ८, दलित महिला सदस्यमा ४ जना गरी कुल ३४ जना निर्विरोध निर्वाचित भएका । चुनावअगाडि नै  एमालेबाट मात्र १ सय २३ जना उम्मेदवार निर्विरोध निर्वाचित हुनु भनेको स्थानीय तहमा एमालेको पकड गठबन्धनको भन्दा बलियो छ भन्ने सङ्केत हो ।

हुन त वैशाख ३० गतेपछिको मतगणनाले समग्र नतिजा देखाउन बाँकी नै छ । तर, सोझो रूपमा बुभ्mदा पाँचवटा दलबीच गठबन्धन भएर चुनावी मैदानमा उत्रेको बेला गठबन्धन दलकै उम्मेदवार एमालेको तुलनामा निर्विरोध निर्वाचित हुनुपर्ने हो । तर, निर्विरोध निर्वाचित उम्मेदवारहरूले चनावी परिणामको पूर्व सङ्केत एमालेको पक्षमा बढी देखिएबाट मतदाताको आकर्षण गठबन्धनतिर जान नसकेको देखिन्छ । गठबन्धनको नेतृत्व गरिरहेको सत्ताधारी दल काङ्ग्रेसबाट १ सय १ जना  र माओवादी केन्द्रबाट ५४ जनामात्र निर्विरोध निर्वाचित हुनुले काङ्ग्रेस र माओवादी केन्द्रप्रतिको आकर्षण मतदातामा कम भएको सन्देश दिएको छ । नेकपा (एकीकृत समाजवादी) र जसपाबाट त झन् कमै सङ्ख्यामा निर्विरोध निर्वाचित भएको हुनाले मतदाताबीच यी दलको सङ्गठन कमजोर भएको देखाउँछ ।