धरान । नेपाल आदिवासी जनजाति महासङ्घ (फोनिज) १ नम्बर प्रदेश कमिटीले केन्द्रीय नवनिर्वाचित पदाधिकारीलाई बधाई ज्ञापन गरेको छ ।
मङ्गलबार कमिटीको तेस्रो पूर्ण बैठक धरानमा सम्पन्न गर्दै गजुरधन राईको अध्यक्षतामा निर्वाचित केन्द्रीय समितिका पदाधिकारीलाई बधाई ज्ञापन गरिएको अध्यक्ष सन्तवीर लामाले जानकारी दिए । लामाका अनुसार फोनिज सुनसरीको समन्वयमा सुनसरीकी एकजना महिला पत्रकारलाई नगदसहितले सम्मानित गरिएको छ ।
नेपाल टेलिभिजनको इटहरी प्रादेशिक कार्यालयमा कार्यक्रम सञ्चालन गर्दै आएकी मेनुका डुम्जन तामाङलाई नगद ५ हजार १ सय ५ रुपैयाँसहित सम्मान पत्रले सम्मानित गरिएको फोनिज जिल्ला अध्यक्ष नवीन गुरुङले जानकारी दिए ।
उनलाई विष्णुमाया/लालबहादुर राई स्मृति पुरस्कारबाट सम्मानित गरिएको हो । उक्त पुरस्कार धरान–११ की समाजसेवी शिव बान्तवाले आमाबुबाको नाममा स्थापना गरेकी हुन् ।
कार्यक्रममा वक्ताहरूले आदिवासी जनजातिको मुद्दालाई स्थापित गराउनका लागि फोनिजकर्मी पत्रकारहरूले भूमिका खेल्नुपर्ने बताएका थिए ।
अग्रज पत्रकार हर्ष सुब्बाले भने, ‘फोनिजकर्मीले आफ्ना मुद्दा स्थापित कसरी गर्ने भन्ने विषयमा केन्द्रित गर्ने बेला भएको छ, आदिवासी जनजातिको मुद्दा ओझेलमा छ, सिथिल छ, सुसुप्त छ ।’ उनले फोनिजकर्मीलाई आफ्ना मुद्दा उठाउनका लागि फिचरसम्बन्धी तालिमको व्यवस्थापन गर्न जरुरी रहेको बताए । त्यस्तै फोनिज प्रदेश १ का सल्लाहकार भक्तशेर राईले भने, ‘हाम्रा कमलहरू आदिवासी मुद्दाहरूमा केन्द्रित हुनुपर्छ ।’
कार्यक्रममा नेपाल पत्रकार महासङ्घकी पूर्व केन्द्रीय सदस्य निलिफा सुब्बा, नेपाल पत्रकार महासङ्घ सुनसरीका अध्यक्ष जनकऋषि राईलगायतले पनि आदिवासी मुद्दामा केन्द्रित हुन आग्रह गरे । कार्यक्रममा नवनिर्वाचित केन्द्रीय पदाधिकारीलाई आदिवासीको फेटा गुथेर कार्यक्रममा सम्मान गरिएको थियो ।