बिर्तामोड । प्रकाशन गृहबाट गैरकानूनी रूपमा कमिसन लिएर पुस्तकमा सिण्डिकेट लगाएको भन्दै पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घले त्यसको विरोध गरेको छ ।

प्याब्सन झापाले प्रत्येक प्रकाशन गृहबाट २५ हजार रुपैयाँ माग्न थालेपछि व्यवसायीले त्यसको विरोध गरेका हुन् । प्याब्सनलाई २५ हजार रुपैयाँ बुझाउने प्रकाशन गृहको पुस्तकमात्र विद्यालयले कोर्षको रूपमा चलाउने योजनाको पुस्तक व्यवसायीले विरोध गरेका हुन् ।

‘एउटा प्रकाशनको मात्र पुस्तक प्रयोग गर्ने भन्ने प्याब्सनको निर्णयले व्यवसायमा सिण्डिकेट लगाउँछ’ पुस्तक तथा स्टेशनरी व्यवसायी महासङ्घ झापाका अध्यक्ष सञ्जय शर्माले भने, ‘देशमा सबैखालका सिण्डिकेट अन्त्य हुँदै गर्दा पुस्तकमा यो लगाउनु गलत हो ।’ उनले प्याब्सनको निर्णयबाट अर्काे प्रकाशनको पुस्तकको व्यवसाय गर्ने व्यवसायी मारमा पर्ने बताए ।

गतवर्षसम्म स्वतन्त्र रूपमा व्यवसाय गर्दै आएका व्यवसायी प्याब्सनको यो निर्णयबाट यस क्षेत्रबाटै पलायन हुने अवस्था आउने दाबी उनीहरूको छ । व्यवसायीले प्याब्सनले कमजोर सिलेबस भएका प्रकाशन गृहका पुस्तक पनि कमिसनको लोभमा विद्यालयले चलाउन बाध्य पार्न सक्नेतर्फ सचेत रहन आग्रह गरेका छन् ।

प्साब्सन झापाले वेदान्त पब्लिकेशनको गणित र सङ्गम पब्लिकेशनको विज्ञान विषयलाई जिल्लाका सबै विद्यालयले अनिवार्य अध्ययन, अध्यापन गराउनुपर्ने उर्दी जारी गरेको छ । यसअघि अन्य प्रकाशनका पुस्तक अध्ययन गराउँदै आएका विद्यार्थीलाई समेत प्याब्सनको सर्कुलरअनुसार  ती पुस्तक पढ्न बाध्य बनाइएको हो । पुस्तक व्यवसायी महासङ्घले प्याब्सनले यसरी लगाएको सिण्डिकेटको चर्काे विरोध गरेको छ । 

बिर्तामोड नगरपालिका शिक्षा शाखाका दिनेश आचार्यले प्याब्सनले छुट्टै सूची तयार गरेर पुस्तक लगाउने विषयमा गरेको परिपत्रबारे थाहा नभएको बताए । उनले व्यवसायीलाई पाठ्यपुस्तक सेटमै उपलब्ध गराउन अनुरोधसमेत गरेका छन् । पुस्तकमा सिण्डिकेट लगाएको बारेमा अध्ययन गरेर आवश्यक कदम चाल्ने उनले बताए ।

व्यवसायीका अनुसार झापामा ४६ वटा प्रकाशन गृहका पुस्तक आउने गरेका छन् । तीमध्ये प्याब्सनलाई कमिसन दिने प्रकाशनको मात्र पुस्तक अब विद्यालयमा लगाउने योजनाको उनीहरूले विरोध गरेका हुन् ।

प्याब्सन झापाका अध्यक्ष गौरीमान फागोले झापामा पुस्तक बिक्री गर्न आउने प्रकाशन गृहबाट संस्थागत रूपमा शुल्क लिने निर्णय गरेको साँचो भएको बताए । उनले हालसम्म २६ वटा प्रकाशन गृह सम्पर्कमा आएको जानकारी दिए ।

प्याब्सनले वार्षिक ३२ वटा विभिन्न कार्यक्रम गर्ने जानकारी दिँदै फागोले प्रकाशन गृहबाट सङ्कलन भएको रकम विद्यार्थीको हक हितमा खर्च गर्ने गरिएको बताए । उनले प्रकाशन गृहले प्रदान गर्ने रकम बैङ्कमा जम्मा गर्न लगाइएको भन्दै त्यसमा पारदर्शिता अपनाइएको बताए ।