इनरुवा । कोसी गाउँपालिकामा पाँच वर्षको अवधिमा ४० वटा मन्दिर निर्माण गरिएका छन् । गाउँपालिका अध्यक्ष ऐयुव अन्सारीले २१ वटा मन्दिर निर्माण सम्पन्न भएको बताए ।
१९ वटा भने निर्माणाधीन अवस्थामा छन् । ‘म आफू मुस्लिम समुदायबाट प्रतिनिधित्व गर्ने भए पनि जनप्रतिनिधि भएका हिसाबले सबै धर्म, सम्प्रदायको काम गरेको हुँ’–उनले भने । कोसी गाउँपालिकाले पाँच वर्षको अवधिमा गरेका विकास निर्माणका बारेमा उनले जानकारी गराएका हुन् ।
कोसी गाउँपालिका–८ कोसी ब्यारेजमा निर्माण सम्पन्न भएको शिवघाट धर्मशालाको उद्घाटनको क्रममा उनले मन्दिर निर्माण तथा अन्य विकास निर्माणबारे जानकारी गराए । १५ लाख रुपैयाँको लागतमा धर्मशाला निर्माण गरिएको सामाजिक शाखा प्रमुख राजकिशोर मेहताले जानकारी दिए ।
कोसी गाउँपालिका–३ स्थित राष्ट्रिय मावि सोभनपुरमा नवनिर्मित भवनको उद्घाटन गरिएको छ । ४५ लाखको लागतमा ४ कोठे भवनको निर्माण सम्पन्न भएको हो । त्यस्तै ६५ लाखको लागतमा ८ कोठे शैक्षिक भवनको निर्माण गरिएको विद्यालयका प्रधानाध्यापक हरि राउतले जानकारी दिए ।