धनकुटा । कानूनी रूपमा प्रतिबन्धित लागूऔषध गाँजा खेतीलाई प्रवद्र्धन गर्ने उद्देश्यले धनकुटाको छिन्ताङमा आयोजना गरिएको गाँजा मेलामा अतिथिका रूपमा सहभागी प्रहरी निरीक्षकसहितको प्रहरी टोली विभागीय कारबाहीमा परेको छ ।
जिल्ला प्रहरी कार्यालयले गाँजा मेलाको उद्घाटन सत्रमा सहभागी भई अतिथि बनेका नेपाल प्रहरीका दुई अधिकृतलाई विभागीय कारबाही थालेको बताएको छ ।
धनकुटाको सहिदभूमि गाउँपालिका–२ छिन्ताङको अखुवाटारमा गत आइतबारदेखि मङ्गलबारसम्म आयोजित ‘गाँजाबारे बृहत् छलफल र सचेतना मेला’ उद्घाटन कार्यक्रमका अतिथि इलाका प्रशासन कार्यालय छिन्ताङका इन्चार्ज इन्स्पेक्टर काजीबहादुर बस्नेत र प्रहरी चौकी त्रिवेणीका इन्चार्ज असइ कुमार कटुवाल जिल्ला तानिएका हुन् ।
दुवैलाई विभागीय कारबाहीका लागि तानिएको कार्यालयका निमित्त सूचना अधिकारी एवम् इन्स्पेक्टर काशीनाथ रेग्मीले बताए । मुलुकमा गाँजा प्रतिबन्धित छ । तर, वैधानिक बनाउने अभियानका केन्द्रीय सल्लाहकार राजीव काफ्लेले गाँजाकै बिरुवामा पानी हालेर तीन दिने मेलाको समुद्घाटन गरेका थिए ।
कानूनी रूपमा प्रतिबन्धित गाँजाको मेला लगाएरै प्रवद्र्धन गर्ने उद्देश्यले पहिलो पटक धनकुटामा आयोजना गरिएको कार्यक्रमलाई विभिन्न कोणबाट आँकलन गर्न थालिएको छ । प्रहरीले पनि उक्त कार्यक्रमलाई गम्भीर ढङ्गले लिएको जिल्ला प्रहरी कार्यालय धनकुटाका प्रमुख लक्ष्मीराज अधिकारीले बताएका छन् ।