ताप्लेजुङस्थित विश्वको तेस्रो अग्लो कञ्चनजङ्घा हिमालमा पर्यटकको आगमन सुरु भएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटकको विस्तारै आगमन सुरु भएको हो ।  

कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष सुनसान जस्तै बनेको कञ्चनजङ्घा क्षेत्रमा विस्तारै पर्यटकको आगमन हुन थालेको । पर्यटकको आगमनसँगै होटल व्यवसायी, पर्यटन व्यवसायी उत्साहित भएको फक्ताङलुङ गाउँपालिका–६ कञ्चनजङ्घा प्रवेशद्धार घुन्साका होटल व्यवसायी पेमा शेर्पाले बताए ।

पर्यटकको चहलपहल हुन थालेसँगै लामो समय बन्द भएको व्यवसाय सञ्चालनमा आउन थालेको शेर्पाले बताए। 

दुई वटा पदर्मागबाट कञ्चनजङ्घा हिमालसम्म पर्यटक पुग्छन् । दक्षिण (रुट) पदर्माग पाँथचरको गणेश चोकदेखि याम्फुदिन हुँदै कञ्चनजङ्घा हिमालको आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । यस रुट हुँदै नर्वे र स्वीच देशका नागरिकका दुई समूह शुक्रबार कञ्चनजङ्घा क्षेत्रमा प्रवेश गरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक सूर्यमान राईले बताए ।

उत्तर रुट पदर्माग ताप्लेजुङको सदरमुकाम फुङ्लिङदेखि घुन्सा हुँदै आधार शिविरसम्म पर्यटक पुग्ने गर्दछन् । दक्षिणबाट बिहीबार १९ बाह्य पर्यटक कञ्चनजङ्घा हिमालको प्रवेशद्धार घुन्सा क्षेत्रमा प्रवेश गरको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले बताए। 

चालु आर्थिक वर्ष २०७८/७९ को हालसम्ममा करिब १५० पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । चालु आवको पहिलो सिजन (मौसम) मा कूल १४१ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ ।

दुई वर्षसम्म सुनसान जस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिकमा अमेरिका, फ्रान्स, ताइवानलगायत देशबाट पर्यटक भ्रमणमा आएका जनाइएको छ ।

कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क छ । तथ्याकअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आव २०७५/७६ मा ८०६ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।