धरान । सुवास राई स्मृति सुपर ८ फुटबल प्रतियोगितामा धरान–१५ उपाधि नजिक पुगेको छ । 

बुधबार सम्पन्न पहिलो सेमिफाइनल खेलमा धरान १९ लाई टाइब्रेकरमा ३–१ गोल अन्तरले हराउँदै धरान १५ उपाधि होडमा पुगेको हो । निर्धारित समयसम्म दुवै टिम गोलरहित बराबरीमा टुंगिएपछि खेलमा अतिरिक्त समय थप गरिएको थियो । उक्त समयभित्र पनि गोल हुन नसकेपछि टाइब्रेकरबाट छिनोफानो भएको हो । 

टाइब्रेकरमा धरान १५ का आशुतोष राई, मदन लाबुङ र बाबरजंग कार्कीले गोल गर्दा रोमन लिम्बूको प्रहार बाहिरिएको थियो । यता धरान १९ का विनोद राईले मात्रै गोल गरे । बबिन लामा र आशिष राईको प्रहार बारमा लागेर फर्किको थियो । अतीत लिम्बूको प्रहार भने विपक्षी गोलरक्षकले बचाए । 

खेलको म्यान अफ दी म्याच धरान १५ का गोलरक्षक प्रवीण राई घोषित हुँदै नगद २५ सय रुपैयाँ पाए । भोलि (बिहीबार) धरान १३ र ११ बीच अन्तिम सेमिफाइनल खेल हुँदै छ । दुई बीच विजेता टोलीसँग धरान १५ ले उपाधिका लागि भिडन्त गर्ने छ । गोधुली रनिङ कपमा क्वार्टरफाइनलमा पुगेका टिमबीच सुपर ८ लिग राइएको हो । 

फाइनल चैत १२ गते हुँदै छ । विजेताले २ लाख र उपविजेताले १ लाख नगद पुरस्कारसहित ट्रफी पाउनेछ ।