धरान । दशौं धरान रन नेवा च्यारिटी १० किमी रनमा पहिलो पटक ह्वीलचेयर रेस आकर्षणका रूपमा रहेको छ । 

आउँदो शनिबार हुने प्रतियोगितामा जनचेतनामूलक कार्यक्रमका लागि पहिलो पटक ह्वीलचेयर रेस गराउन लागिएको हो । आयोजक धरान रन समूहले तयारी पूरा भएको जानकारी दिन गरिएको पत्रकार सम्मेलनमा ४ हजार प्रतिस्पर्धीले भिडन्त गर्न लागेका छन् । त्यस्तै यसपटक  रनमा नेपालको राष्ट्रिय झण्डा बोकेर विश्वभर नेपाललाई चिनाउने अभियानकर्ता लक्ष्मीनारायण शिल्पकारको पनि उपस्थिति रहने समूहका अध्यक्ष रमु राईले बताए । 

त्यस्तै भारत जलपागुडीका सुन्दर जयसवालले भने खाली खुट्टा नै दौडिने भएका छन् । उनले पनि भारतीय झण्डा बोकेर खाली खुट्टा दौडिने उनले जानकारी दिए । यसक्रममा खेलकुदमा योगदान दिने व्यक्तिहरूलाई सम्मानित गरिन लागिएको छ । प्रतियोगितामा नेपाल, भारत, हङकङ, बेलायत, जर्मन, कतारबाट धावकधाविकाहरूले प्रतिस्पर्धा गर्न लागेको संस्थापक अध्यक्ष सन्तोष राईले जानकारी दिए । 

प्रतियोगिता विजेताले नगद ६० हजार, दोस्रोले ५० हजार र तेस्रोले ३० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै १२ वर्षभन्दा मुनीका प्रथम, दोस्रो र तेस्रोले नगद ७, ५ र ३ हजार रुपैयाँसहित मेडल प्रमाण पत्र पाउनेछन् । १२ देखि १६ वर्षभित्रका धावकधाविकामध्ये प्रथम, दोस्रो र तेस्रोनले नगद ७, ५ र ३ हजार रुपैयाँ पाउनेछन् । 

धरान रन समूहले कार्यक्रमबाट बाँकी रहेको रकम सामुदायिक विद्यालयमा अध्ययरत जेहेन्दार तथा गरिबका १२ जना विद्यार्थीका लागि खडा गरिएको शैक्षिक कोषमा जम्मा गरिने जनाइएको छ । २०६९ सालदेखि धरान रन समूहले प्रतिस्पर्धा गराउँदै आएको छ । नेपालमा सबैभन्दा बढी धावकधाविका सहभागी हुने प्रतियोगिता यो नै पहिलो हो ।