धरान । तेइसौं टुबोर्ग बूढासुब्बा गोल्डकप यस वर्ष चैतको अन्तिममा हुने भएको छ । २०५५ सालदेखि अविराम हुँदै आएको प्रतियोगिता गत वर्ष कोरोना महामारीका कारण रोकिएको थियो । 

प्रतियोगिताका लागि धरान उपमहानगरपालिकाले यसपटक विजेता र उपविजेता टिमको नगद पुरस्कार दिने वचनवद्धता जनाएको आयोजक धरान फुटबल क्लबका अध्यक्ष किशोर राईले जानकारी दिए । प्रतियोगितामा मोफसलका दुई, आयोजक, भारतका दुई र सहिद स्मारक ए डिभिजन लिगका उत्कृष्ट तीन टिम सहभागी बन्ने अध्यक्ष राईले जानकारी दिए । 

प्रतियोगितामा विजेतालाई नगद १० लाख, उपविजेतालाई नगद ५ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाण पत्र दिइनेछ । त्यस्तै व्यक्तिगत पुरस्कार पनि वितरण गरिने भएको छ । प्रतियोगिताका लागि धरान उपमहानगरपालिका, मुख्य प्रायोजकका रूपमा जीबी मार्केटिङ प्रालि, प्रदेश १ सरकार र राखेपले सहयोग गर्ने जनाइएको छ । 

धरान रङ्गशालामा हुन लागेको प्रतियोगिता चैत २६ गते सुरु भई वैशाख ३ गतेसम्म सञ्चालन हुनेछ । पछिल्लो २२ औं संस्करणको विजेता मनाङ मस्र्याङ्ग्दी क्लब काठमाडौँ रहेको छ । प्रतियोगिताका लागि ६६ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको छ । बूढासुब्बामा नेपाल पुलिस क्लब र थ्री स्टार क्लबले समान ५–५ पटक उपाधि रक्षा गरेका छन् भने मनाङले चार पटक उपाधि रक्षा गरिसकेको छ ।