ताप्लेजुङस्थित कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको आगमन घट्दै गएको छ । कञ्चनजङ्घा क्षेत्रमा आन्तरिक तथा बाह्य पर्यटक विस्तारै बढ्दा कोभिडले असर गरेको थियो । 

कोभिड–१९ महामारी सुरु भएपछि पछिल्लो दुई वर्ष कञ्चनजङ्घा क्षेत्र सुनसानजस्तै बनेको छ । यो समयमा थोरै पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्काअनुसार महामारी सुरु भएको वर्ष अर्थात आर्थिक वर्ष २०७७/७८ मा ४३ जनाले सो क्षेत्रको भ्रमण गरेका छन् ।

चालु आर्थिक वर्ष २०७८÷७९ को हालसम्ममा करिब डेढ सय पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका छन् । चालु आवको पहिलो सिजन (मौसम) मा कूल १४१ पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका परिषद् कार्यालयले जनाएको छ । 

दुई वर्षसम्म सुनसानजस्तै बनेको कञ्चनजङ्घा क्षेत्र चालु आवमा महामारीको प्रभाव केही कम बनेपछि सीमित सङ्ख्यामा पर्यटकको आगमन भएको हो । यस वर्षको पहिलो पर्यटकीय मौसम असोज र कात्तिक महिनामा अमेरिका, फ्रान्स, ताइवान लगायतबाट पर्यटक भ्रमणमा आएका कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका पर्यटन सहायक टासीतेन्जिङ शेर्पाले जानकारी दिए ।

चालु आवको पहिलो सिजनमा सेभेन समिट ट्रेक्स प्रालिमार्फत गएका ताइवानका एक नागरिकसहित पाँच  आरोहीले कञ्चनजङ्घाको सफल आरोहण गरेका छन् । कञ्चनजङ्घा आरोहण गर्नेमा ताइवानका सेङ को अथ, नेपालीमा दोलखाका निमाग्याल्जेन शेर्पा, पासाङ्रिन्जे शेर्पा, सोलुखुम्बुका ग्लाल्जे शेर्पा र दाकिपा शेर्पा रहेका छन् । परिषद् कार्यालयका अनुसार कञ्चनजङ्घामा आउने बाह्य तथा आन्तरिक पर्यटकमध्ये केही हिमाल आरोहण गर्ने र कोही आधार शिविर भ्रमणको योजनामा आउछन् ।

कोरोना महामारी सुरु भएको अघिल्लो वर्षसम्म पछिल्लो दशकको अवधिमा पाँच हजार ४२७ पर्यटकले कञ्चनजङ्घा क्षेत्रको भ्रमण गरेका कञ्चनजङ्घा संरक्षण क्षेत्र कार्यालयको तथ्याङ्क रहेको छ । तथ्याङ्कअनुसार उक्त अवधिभित्र सबैभन्दा बढी आर्थिक वर्ष २०७५/७६ मा ८०६ जना पर्यटकले कञ्चनजङ्घाको भ्रमण गरेका छन् ।

हरेक वर्ष साढे पाँचसय, साढे छ सय र साढे सातसयसम्मको हाराहारीमा पर्यटक आउने गरे थिए । कोरोना महामारीको प्रत्यक्ष असर पर्यटन क्षेत्रमा परेपछि पर्यटन विकासमा अवरोध पुग्नुका साथै यसबाट हुने आम्दानी गुमाउनुपरेको कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद्का अध्यक्ष खगेन्द्र फेम्बूले बताए । फेम्बूले महामारीको असर समाप्त भएमा कञ्चनजङ्घाको भ्रमण गर्ने पर्यटकको सङ्ख्या भने विगतभन्दा दोब्बर बढीले वृद्धि हुने बताए ।