जिल्लास्थित मध्यनेपाल नगरपालिकाले भार्लेटार स्वास्थ्यचौकी मार्फत ‘अल्ट्रासाउण्ड सेवा’ सुरुआत गरेका छन् । गर्भवती महिला तथा नवजात शिशुको मृत्युदर घटाउने लक्ष्यका साथ पहिलोपटक आइतबारदेखि सो सेवा थालनी गरिएको हो  । 

नगर प्रमुख रमेशकुमार पाण्डेले स्वास्थ्यचौकीका अनमी सुनिता रायमाझीलाई ‘अल्ट्रासाउण्ड मेसिन’ हस्तान्तरण गर्दै सो सेवा सुरु गरे । 

नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख सूर्यप्रसाद पौडेलका अनुसार गण्डकी प्रदेश सरकारले पनि सो उपकरण उपलब्ध गराएको हो  ।  चिसंकु, रम्घा  र भोर्लेटार स्वास्थ्यचौकीबाट उक्त सेवा  उपलब्ध भइरहेको नगरपालिकाले जनाएको छ ।  

नगरपालिकाले गर्भवती  तथा नवजात शिशुका लागि निःशुल्क एम्बुलेन्स उपलब्ध गराउँदै आएको छ । चालु आवको साउन महिनाबाट हालसम्म १६२ नयाँ गर्भवती थपिएको नगरपालिकाको स्वास्थ्य शाखा प्रमुख पौडेलले जानकारी दिए । यस अवधिमा १५२ सुत्केरी भएका, ती मध्ये ११६ ले पालिकाभित्रका स्वास्थ्य संस्थामार्फत सुरक्षित प्रसूति सेवा लिएका र  ३६ जनालाई बाहिरा ‘रिफर’ गरिएको जनाइएको छ ।