कर्णाली प्रदेशका प्रमुख तिलक परियारले सुर्खेतको वीरेन्द्रनगर नगरपालिका–१४ बयलकाँडा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको बताएका छन् । प्याराग्लाडिङ उडान भर्ने क्षेत्रमा पुग्नुका उनले ऐतिहासिक महत्व बोकेको सुर्खेतको पुरानो सदरमुकाम गोठीकाँडा वर्तमान समयमा साहसिक पर्यटनको आकर्षण केन्द्र बन्दै गएको उल्लेख गरे । 

“बयलकाँडा सुर्खेत उपत्यकाको शिरजस्तै छ”, परियारले भने, “प्राकृतिक सुन्दरताले भरिएको यस ठाउँबाट सुर्खेत उपत्यकाको दृश्यावलोकन अझ बढी मनमोहक देखिँदोरहेछ ।” गर्मी याममा शीतलता प्राप्त गर्न सकिने प्राकृतिक भूबनोट र ऐतिहासिक महत्व बोेकेको बयलकाँडाको पर्यटन प्रवद्र्धनका लागि प्रदेश र सङ्घ सरकारसँग आवश्यक पहल गर्ने उनले बताए । सो क्षेत्रमा वेलकम प्याराग्लाइडिङ कम्पनीले दुई सातादेखि प्याराग्लाडिङ उडान भर्दै आएको छ ।

सो वडाका वडाध्यक्ष टोपबहादुर दर्लामीले पछिल्लो समयमा आन्तरिक तथा बाह्य पर्यटक बढ्दै गए पनि सरकारको संस्थागत, नीतिगत, योजनागत विकास र पूर्वाधारमा लगानी नहुँदा यहाँको अपेक्षित विकास हुन नसकेको समस्या दर्शाए । सङ्घ र प्रदेश सरकारको उचित ध्यान नपुग्दा गोठीकाँडा राजधानीको समीपमा बत्तीमुनिको अँध्यारोजस्तै भएको उनको भनाइ थियो । पानी, बत्ती र पक्की बाटोको समस्या रहेको सो क्षेत्रको विकासका लागि पहल गरिदिन स्थानीयवासीले प्रदेश प्रमुख परियारसँग माग गरेका छन् ।